ध्रुवे हात्तीलाई निगरानी गर्न रेडियोकलर जडान गरिँदै
चितवन- चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको छ ।
हात्तीलाई रेडियोकलर जडान गर्नका आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाइएको छ । उहाँले भन्नुभयो “हात्ती देखिएमा खबर गर्न निकुञ्ज आसपास बसोबास गर्दै आएका समुदाय र निकुञ्ज सुरक्षार्थ रहेका सेनाको पोष्टमा सूचना गरिएको छ ।”
अरु हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियोकलर जडान गर्न कठिन भएको उहाँले बताउनुभयो । हात्तीलाई खुल्ला चौर र घाँसे मैदानमा लगरे बेहोस् बनाइ यो कलर जडान गर्नुपर्ने भएकाले समस्या हुँदै आएको उहाँले जानकारी दिनभयो।
यस्तो छ ध्रुवे हात्तीको विगत
ध्रुवेको उपद्रो करिब १५ वर्ष अघिदेखि नै सुरु भएको हो । २०६६ देखि २०६९ सालसम्म यो हात्ति निकै चर्चा थियो । स्थानीयलाई निकै ‘दु:ख’ दिएको ध्रुवे हात्तीले त्यो चार बर्षको अवधिमा मात्र १५ जनाको ज्यान लिएको थियो । ध्रुवे हत्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जको अनुमान छ ।
२०७५ सालमा यसले चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले साङ्लो चुँडाएर जंगलतर्फ लगेको थियो ।
यो हात्तीले पटक पटक बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गरेर स्थानीयलाई पटक पटक हैरानी दिदै आएको छ । सारै दु:ख दिएपछि एकदसक अघिनै सरकारले धुर्बे हात्ती मार्न भनेर १६ लाख रुपैयाँसम्म खर्च गरेको थियो। सरकारको निर्देशन अनुसार सेनाले कैयौँ पटक कोसिस गरे पनि धुर्बे हात्तीलाई मार्न सकेन। त्यसयता केही समय शान्त जस्तो देखिएको यो हात्ति गएको तिहारयता वस्ती पस्न थालेपछि स्थानीय भयवीत बनेका छन् ।
अब हात्तीमा रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ? के गर्दैछ ? भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने भएको छ । रेडियोकलर जडान गरेसँगै हत्ताी बस्ती पस्न लागेको जानकारी स्थानीयलाई दिन सकिने भएको छ ।
विशेष गरी चितवन र पर्सा क्षेत्रमा ‘ध्रुवे’, ‘गोबिन्दे’ र ‘रोनाल्डो’ नामका हात्तीले विध्वंस मच्चाउँदै आएका छन्। गोबिन्दे र रोनाल्डो हाल शान्त देखिएका छन् भन्ने ध्रुवे उन्मत्त देखिएको निकुञ्जका अधिकारीहरु बताउछन् ।
प्रतिक्रिया राख्नुहोस्