अघिल्लाे वर्षकाे तुलानामा धनकुटामा सुन्तला उत्पादन बढ्याे

धनकुटा – विगतका वर्षदेखि सुन्तला उत्पादन निरन्तर ओरालो लागेको धनकुटामा यस वर्ष भने उत्पादन केही बढ्ने देखिएको छ। धनकुटाका विशेषगरि खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको छ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा आर्थिक वर्ष ०७७-७८ मा ३ हजार १ सय ५१ मेट्रिक टन, आर्थिक वर्ष ०७८-७९ मा३ हजार १ सय २७मेट्रिक टन र गत वर्ष २ हजार ८ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस बर्ष भने उत्पादन केही बढ्ने अनुमान छ। सुन्तला टिपाइ र बिक्रिको कार्य भइरहेकोले आधिकारिक तथ्यांक नआएपनि यस वर्ष १० देखि १५ प्रतिशत बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताउनु भयो।
जिल्लाभरि ८ सय ७७ हेक्टरमासुन्तला खेती हुने गरेको भएपनि ५ सय १ हेक्टर क्षेत्र मात्रै उत्पादन क्षेत्र रहेको छ। उत्पादन भएको सुन्तला बगानबाटै प्रतिकेजी ५० देखि एक सय रुपैयाँमा बिक्रि भइरहेको छ । गएको वर्ष सुन्तलाको उत्पादन निराशाजनक भएपनि यसपटक राम्रो उत्पादन भएको किसान राधा राईले बताउनु भयो।
धनकुटाका सातवटै स्थानिय तहमा सुन्तलाको व्यवसायिक खेति हुने गरेको छ। यहाँ उत्पादित सुन्तला पूवी तराईका जिल्ला हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ। धनकुटाको सहिदभूमि गाउँपालिकाको खोकुमा उत्पादन भएको सुन्तलालाई एसियाकै गुलियो सुन्तला रुपमा लिने गरिएको छ।।






प्रतिक्रिया राख्नुहोस्