चितवनमा उत्पात मच्चाउँदै आएको ध्रुवे हात्तीको दाह्रा काटियाे

रेडियोकलर मेसिन जडान

चितवन –  चितवनमा र पर्सा क्षेत्रका बस्तीमा पसेर पटक- पटक वितण्डा मच्याउँदै आएको  ‘ध्रुवे ’ हात्तीमा रेडियोकलर मेसिन जडान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले  हात्तीलाई सोमबार दिउँसो निकुञ्जको सुखिभार क्षेत्रको घासे मैदानमा डार्ट गरेर हात्तीको घाँटीमा रेडियोकलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने तिवारीले बताउनु भयो। ‘अब हात्तीको अवस्थाबारे जानकारी लिन सहज हुने छ । रेडियोकलर जडान गरिसकेपछि हात्ती बस्तीमा प्रवेश गर्न लागेको खण्डमा स्थानीयलाई जानकारी गराउन सकिने भएको छ,” तिवारीले भन्नुभयो ।

रेडियोकलर जडान गर्ने क्रममा हात्तीको दाह्रा पनि काटिएको छ  । दाह्रा काटेसँगै हात्तीले गर्ने क्षतिमा पनि कमी आउने तिवारीले बताउनु भयो ।  विगत केही वर्षयता शान्त रहेको ध्रुवे गएको तिहारको समययता बस्तीमा पस्न थालेपछि निकुञ्जले त्यसलाई डार्ट गरी रेडियोकलर जडान गरेको हो । रेडियो कलर जडानका लागि निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली र पाँचवटा पालुवाहात्ती परिचालन गरिएको थियो ।

यस्तो छ ध्रुवेको विगत 

ध्रुवेको उपद्रो करिब १५ वर्ष अघिदेखि नै सुरु भएको हो । २०६६ देखि २०६९ सालसम्म यो हात्ति निकै चर्चा थियो । स्थानीयलाई निकै ‘दु:ख’ दिएको ध्रुवे हात्तीले त्यो चार बर्षको अवधिमा मात्र १५ जनाको ज्यान लिएको थियो । ध्रुवे हत्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जको अनुमान छ ।

२०७५ सालमा यसले चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले साङ्लो चुँडाएर जंगलतर्फ लगेको थियो ।

यो हात्तीले पटक पटक बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गरेर स्थानीयलाई पटक पटक हैरानी दिदै आएको छ । सारै दु:ख दिएपछि एकदसक अघिनै सरकारले धुर्बे हात्ती मार्न भनेर १६ लाख रुपैयाँसम्म खर्च गरेको थियो। सरकारको निर्देशन अनुसार सेनाले कैयौँ पटक कोसिस गरे पनि धुर्बे हात्तीलाई मार्न सकेन। त्यसयता केही समय शान्त जस्तो देखिएको यो हात्ति गएको तिहारयता वस्ती पस्न थालेपछि स्थानीय भयवीत बनेका छन् ।

अब हात्तीमा रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ? के गर्दैछ ? भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने भएको छ । रेडियोकलर जडान गरेसँगै हत्ताी बस्ती पस्न लागेको जानकारी स्थानीयलाई दिन सकिने भएको छ ।

विशेष गरी चितवन र पर्सा क्षेत्रमा ‘ध्रुवे’, ‘गोबिन्दे’ र ‘रोनाल्डो’ नामका हात्तीले विध्वंस मच्चाउँदै आएका छन्। गोबिन्दे र रोनाल्डो हाल शान्त देखिएका छन् भन्ने ध्रुवे उन्मत्त देखिएको निकुञ्जका अधिकारीहरु बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.