व्यक्तिका गलत कामको दोष व्यवस्थालाई दिन मिल्दैन: संचारमन्त्री

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले व्यक्तिका गलत कामको दोष व्यवस्थालाई लगाउन नहुने बताउनु भएको छ ।

रेडियो नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र पब्लिक मिडिया फोरमद्वारा मंगलबार रेडियो नेपालमा आयोजित अन्तरक्रियामा मन्त्री शर्माले गल्ती गर्नेहरू कारवाहीको भागिदार हुने र व्यक्तिका गलत कामको दोष व्यवस्थालाई दिन नहुने बताउनु भएको हो ।

मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र गणतन्त्र एक अर्काका परिपूरक भएकोले गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्र स्वतन्त्र र जबाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारण संस्था बनाउने सम्बन्धमा संसदमा विचाराधीन विधेयकमा सरोकारवालाहरूको सुझाव समेत समावेश गरी छिट्टै पूर्णता दिइने बताउनुभयो ।

कार्यक्रममा पूर्व सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सार्वजनिक सेवा प्रसारण संस्था बनाउँदा सम्पादकीय स्वतन्त्रता सुनिश्चित हुनुपर्ने बताउनुभयो । नेता डा. रिजालले सामाजिक सञ्जालको प्रयोगले जनताको चेतना बढाएको भन्दै जनताका प्रश्नले गणतन्त्र कमजोर हुने कुरामा कुनै तुक नरहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, रेडियो नेपालका मुख्य सम्पादक हरिशरण लामिछाने, नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन शाखाका अध्यक्ष दिपकजंग हमाल लगायतले सार्वजनिक प्रसारण संस्था स्वतन्त्र र स्वायत्त हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.