सम्राट अशोकसँग मेरो भावना मिलेको छ : प्रचण्ड
लुम्बिनी,रामग्राम र तिलौराकोटलाई‘पिस सिटी’ घोषणा गरिने

पश्चिम नवलपरासी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा शान्तिको सन्देश फैलाउन आफू लागिपरेको बताउनु भएको छ ।
आज पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको रामग्राम स्तूपा आयोजित स्तुपको बृहत्तर विकास परियोजना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघ मार्फत विश्वभर शान्तिको सन्देश फैलाउन सफल भएको बताउनुभयो ।
विश्वमा अहिले झनै शान्तिको आवश्यकता बढेर गएको उल्लेख गर्दे उहाँले बुद्ध शिक्षाको पनि महत्व दिनानुदिन बढेको उल्लेख गर्नुभयो । बुद्धस्थल रामग्रामबाट विश्व शान्तिका लागी विशेष अपिल गर्दे प्रधानमन्त्री दाहालले शान्ति र बुद्धका उपदेश विश्वभर पुर्याउन इमान्दारितापूर्वक अपिल गर्दे आएको उल्लेख गर्नुभयो ।
रामग्रामको विकासका निम्ति भएका कार्यक्रमले धार्मिक पर्यटनको विकास र सांस्कृतिक तथा आर्थिक विकासका लागि भूमिका खेलेको प्रधानमन्त्री दाहालले बताउनुभयो । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका महासचिव नेपाल आएको प्रसङ्ग उल्लेख गर्दै त्यसले जलवायु परिवर्तनका कारण नेपालले खेपिरहेको प्रभावको विषयमा विश्वसमुदायको ध्यानाकर्षण गर्न सफल भएको बताउनुभयो ।
साथै कोप २८ सम्मेलनका क्रममा नेपालका हिमाल र पहाडको संरक्षणका लागि विश्वसमुदायले ध्यान दिनुपर्छ भन्ने प्रतिबद्धता व्यक्त हुनु सुखद पक्ष भएको उल्लेख गर्दे उहाँले जलवायु परिवर्तनमा नेपालले भोगेका समस्या समाधानको लागी वातावरण तयार भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले बुद्धसँग सम्बन्धित तीन वटा सहरलाई ‘पिस सिटी’ घोषणा गर्ने आफ्नो पुरानै योजना रहेको बताउँदै रामग्राम स्तुपको बृहत्तर विकासले बुद्ध सर्किटको अवधारणा पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नवलपरासीको रामग्राम, रूपन्देहीको लुम्बिनी र कपिलवस्तुको तिलौराकोटलाई संयुक्त राष्ट संघ मार्फत ‘पिस सिटी’घोषणा गर्ने अवधारणा रहेको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो । विश्वमा आफ्नो साम्राज्य फैलाउनका लागि युद्धमा होमिएका अशोक सम्राटले युद्धबाट परिवर्तन भई बुद्धलाई शान्ति दुतको रुपमा स्थापित गराउन सफल भएको बताउँदै सम्राट अशोक र आफ्नो भावना मिलेको उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले बुद्धसँग सम्बन्धित क्षेत्रको एकीकृत विकास गर्नुपर्नेमा जोड दिनुभयो । भैरहवामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल वुद्ध सर्किटकै अवधारणा अनुरूप निर्माण भएको बताउँदै त्यसको नियमित सञ्चालनको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा रामग्राम विकासको गुरुयोजना प्रस्तुत गरिएको थियो । लुम्बिनी विकास कोषले ‘ द प्रमिश ल्याण्ड’नामक सस्था संस्था सहकार्य गरी उक्त परियोजना अगाडी बढाउने तयारी गरेको छ ।
सो क्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले स्थानीय तह सँग सहकार्य गरी गुरुयोजनाको काम पुरा गर्नुपर्नेमा जोड दिदै संघीय सरकारसँग पर्याप्त बजेट विनियोजनको माग गर्नुभयो । रामग्राम स्तूप संगै बुद्धस्थललाई समेटेर बुद्ध सर्किटको निर्माण गर्नुपर्नेमा यादवले जोड दिनुभयो ।
कार्यक्रममा भारतीय सत्तारुढ दल भाजपाका सांसद राम माधवले नेपाल भूगोलमा सानो भएपनि ऐतिहासिक तथा पुरातात्विक स्थलका हिसाबले ठुलो मुलुक रहेको बताउनुभएको छ । नेपाल भारत बिचका बुद्धकालीन स्थलहरुबीच सम्बन्ध स्थापित गरी पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पतन्जली भारतका सिईओ आचार्य बालकृष्णले विश्व शान्तीनै अहिलको प्रमुख आवश्यकता रहेको बताउदै वुद्धको सन्देश विश्वमा फैलाउनुपर्नेमा जोड दिनुभयो । सो क्रममा प्रधानमन्त्रीले विश्व शान्तिको कामना सहित दीप प्रज्वलन गर्नुभएको थियो ।
कार्यक्रममा आरक्टिेक्ट स्टेफानो रोयले रामग्राम स्तुपको गुरुयोजनाको बारेमा जानकारी दिनुभएको थियो । रामग्राम स्तूप शान्तिका अग्रदूत गौतम बुद्धको एक मात्र सिंगो अस्तु रहेको स्थल हो । केही दिन अगाडि मात्रै सो क्षेत्रमा पुरातत्व विभागले गरेको उत्खननको क्रममा विभिन्न बुद्धकालीन संरचना जमिनमुनि फेला परेको थियो । रामग्राम स्तूपामा हिजो विश्वशान्तिको कामना गर्दे ८ हजार बढि दीप प्रज्वलन गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्