देश बिकासको लागि राष्ट्रिय सरकार आवश्यकः अध्यक्ष ओली
रामेछाप- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिकासका लागि राष्ट्रिय शक्तिको सरकार आवश्यक भएको बताउनु भएको छ ।
अध्यक्ष ओलीले अहिले देशको राष्ट्रिय शक्ति नेकपा एमाले भएको दाबी गर्दै देशका बिद्यमान् समस्या समाधान गर्न एमालेले मात्र सक्ने बताउनुभयो ।
एमालेको झुलाघाट–चिवाभन्ज्याङ्ग संकल्प यात्राका क्रममा रामेछापको मन्थली आइपुग्नु भएका अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारबाट बिकास संभव नभएको बताउँदै एमालेको अहिलेको यात्रा समृद्धिको लागि भएको बताउनु भयो ।
देशका सबै राजनैतिक शक्तिहरु एक भएर एमालेलाई घेराबन्दिमा पारेको भएपनि आफ्नो पार्टी अहिले पनि राष्टिय शक्तिका रुपमा रहेको बताउँदै केहि लोभिपापीहरुका कारण पार्टीले गएको निर्वाचनमा क्षति व्यहोर्नु परेको बताउनु भयो ।
उहाँले अहिले नेपाललाई अन्धकारको युगमा धकेल्ने प्रयत्न भएको बताउँदै विश्वमा कम्युनिष्ट पार्टीहरु कमजोर भइरहेको बेला नेपालमा भने कम्युनिष्ट पार्टी ठुलो शक्तिका रुपमा स्थापित भएको बताउनु भयो ।
कृषिमा नयाँ क्रान्तिको जरुरी भएको बताउँदै अध्यक्ष ओलीले देश बनाउन नेपाली युवाहरु नै कम्मर कसेर लाग्नु पर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण र राष्टियताको सबालमा एमालेको कसैसंग तुलना हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले बिमानस्थलबाट समातिएको सुन बिचमा नै हराउने गरेको आरोप लगाउनुभयो ।
देशमा तस्करी मौलाएको तर्फ संकेत गर्दै उहाँले अहिले दिनहुँ ठूलो मात्रामा सुन तस्करी हुने गरेको दाबी गर्नु भयो । उहाँले अहिलेको सरकार ओरालोमा छाडेको गाडि जस्तै गरी चलेको बताउनुभयो ।
अध्यक्ष ओलीले गठबन्धन सरकारबाट बिकास संभव नभएको बताउनु भयो । एमालेले १३ दिन अगाडि झुलाघाटबाट संकल्प यात्रा शुरु गरेको थियो । उक्त संकल्प यात्रामा एमालेका केन्द्रिय स्तरका नेताहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्