नेपाली कांग्रेसद्वारा बारामा शिक्षकहरूमाथि भएको दमनको निन्दा

काठमाडौँ – नेपाली कांग्रेसले बाराको सिम्रौनगढ नगरपालिकामा धर्नामा रहेका शिक्षकमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानबिन गरी कारबाहीकाे माग गरेकाे हाे ।

सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका एक सय ९० जना शिक्षकहरूले ६ महिनादेखि पारिश्रमिक नपाएपछि दुई महिनादेखि त्यसको विरोधमा आन्दोलन गरिरहेका छन् ।

नगरपालिकाको मुख्य द्वारमा धर्ना बसेका शिक्षकहरूमाथि बुधवार सुरक्षाकर्मीले हस्तक्षेप गर्नुका साथै गोली चलाउँदा सिम्रौनगढ नगरपालिका– १ नन्सगरा ढाटका लक्ष्मी मुखिया विनको घटनास्थलमै मृत्यु हुनका साथै केही व्यक्तिहरू घाइते भएका थिए ।

शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सुरक्षाकर्मीबाट निर्मम दमन भएको कांग्रेसले जनाएको छ । ‘उक्त घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.