पूर्व गृहमन्त्री खाँण थुनामुक्त
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनु भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त हुनु भएको छ । उच्च अदालत पाटनको आदेश अनुसार खाँणाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बुझाउनु भएको थियो । त्यसपछि उहाँलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको थियो ।
सम्पत्ति शुद्धिकरण विभागमा पनि १५ लाख धरौटी बुझाउनु भएका खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै पूर्व गृहमन्त्री खाँण ७ महिनापछि थुनामुक्त हुनु भएको हो । थुनामुक्त भएसँगै नेता खाँण अहिले निजी निवास काठमाडौंँ चावहिलमा पुग्नु भएको नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका नेता दीपेन्द्र पोखरेलले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो । खाँण थुनामुक्त भएसँगै उहाँलाई भेटन नेता कार्यकर्ताहरु निजी निवास चावहिल पुगेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको काठमाडौँको आदेश अनुसार पुर्पक्षका लागि थुनामा रहनु भएका खाँणलाई उच्च अदालत पाटनले विहीबार ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
खाँणलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने विषयमा गत १५ पुसमा उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको राय बाझिएको थियो । पाण्डेले धरौटीमा छाड्न हुने र खरेलले छाड्न नसकिने राय दिनुभएको थियो ।
त्यसपछि मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको तेश्रो एकल इजलासमा पुगेको हो । कोइरालाको इजलासले बिहीबार खाँणलाई धरौटीमा छाड्ने राय दिएसँग खाँणले आज जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाउनु भएको थियो।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्