११ खाद्य उद्योगमाथि कारबाही गर्न सिफारिश

सुर्खेत- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा ११ उद्योगको उत्पादनमा रोक लगाउन सिफारिस गरेको छ ।

कार्यालयले बाहिरी जिल्लामा स्थित खाद्य उद्योगहरुले मापदण्ड विपरितका वस्तु उत्पादन गरेर कर्णालीमा विक्री वितरण गरेको पाईएपछि ती उद्योगको उत्पादनमा रोक लगाउन सिफारिस गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त कार्यालय प्रमुख पदम बरालले चालु आर्थिकको मंसिरसम्म मापदण्ड विपरितका सातवटा खाद्य उद्योग माथि मुद्धा चलाउन अन्तिम तयारी भईरहेको बताउनुभयो ।

उहाँले सुर्खेतजिल्ला अदालतबाट मापदण्ड विपरित सञ्चालित एउटा खाद्य उद्योगमाथि कारर्वाहीका लागि मुद्धाको अन्तिम फैसलासमेत आईसकेको जानकारी दिनुभयो । कार्यालयबाट कर्णालीका सात जिल्लामा ३७१ पटक बजार अनुगमन गरी २ सय ६० उद्योग, पसल, होटल रेष्टुरेन्ट तथा मिठाई पसलहरुको निरीक्षण गरिएको खाद्य निरीक्षक विवेककुमार सुवेदीले जानकारी दिनुभयो ।

उहाँले बजार निरीक्षणका क्रममा विभिन्न नमुना संकलन गरी नेपाल सरकारले तोकेको गुणस्तर अनुरुप खाद्य वस्तु उत्पादन नगर्ने उद्योग माथि खाद्य ऐन २०२३ अनुसार मुद्दा चलाएर कारवाही गर्ने गरिएको बताउनुभयो ।

मापदण्ड विपरीत सञ्चालित खाद्य उद्योगलाई कारबाही मात्र नगरी खाद्य स्वच्छता सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम समेत सञ्चालन गर्ने गरेको उहाँको भनाइ छ ।

कार्यालयले कर्णालीका सुर्खेत, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट र रुकुम पश्चिममा खाद्य वस्तुको गुणस्तर मापन र त्यसको नमूना जाँच गर्ने जिम्मा पाएको छ ।

अन्तरक्रिया कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जनताको जीवनसँग सरोकार राख्ने खाद्य स्वच्छताको गुणस्तर कायम राख्न निगरानी गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन तीनै तहका सरकार जुट्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले खाद्य ऐन नियममा रहेका मुख्य बुँदाहरुमाथि प्रकाश पार्दै ऐनविपरित कार्य गर्नेलाई दण्ड सजाय हुने जानकारी गराउनुभयो । जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि अति नै आवश्यक र सहयोगसिद्ध हुने हुँदा आगामी दिनमा अझै घनिभूत पार्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.