सिद्धबाबा सुरुङमार्ग निर्माणलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

लुम्बिनी- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले निर्माण कार्य ढिलो गतिमा भएको भन्दैँ असन्तुष्टि व्यक्त गर्नु भयो ।
सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई आग्रह गर्नु भयो । ‘अहिले ८-९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’ मन्त्री ज्वालाले भन्नुभयो । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर, बाहना बनाएर काममा ढिलाई गर्न छुट छैन । ‘समस्या कहाँनिर छ, त्यो हामी सुन्छौं, तर वाहना बनाएर ढिलाई गर्न पाइँदैन’ उहाँले निरीक्षणका क्रममा भन्नुभयो ।
मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताउनु भयो । उहाँले निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रति सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो ।
मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्वार सहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबा देखि पाल्पाको दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको निर्माण अघि बढाइँएको हो ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ ।






प्रतिक्रिया राख्नुहोस्