बारा-पर्साका चार सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय बढी मजदुर बेरोजगार

पर्सा- बारा-पर्सा औद्योगिक कोरिडोमा संचालित रहेका चार वटा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेपछि उद्योगमा कार्यरत पाँच सय बढी मजदुर बेरोजगार भएका छन् ।
विद्यमान आर्थिक मन्दीका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा संचालित रहेका इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्ट कारखानाले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर तथा कर्मचारी बेरोजगार भएका हुन् ।
बारा–पर्सा औद्योगिक कोरिडोमा संचालित १२ वटा उद्योगमध्ये चारवटा बन्द भएको र बाँकी उद्योग बन्द हुने अवस्थामा पुगेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष एवम् श्री सिमेन्ट उद्योगका संचालक अनिल अग्रवालले जानकारी दिनुभयो ।
उहाँले बैँकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुगतानी राज्यपक्षले नगरेका कारण सिमेन्टको माग घट्दै गएकाले उद्योगहमरु बन्द भएको र बाँकी बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।
भारत सरकारले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन एक हजार रुपैया र भ्याट लिंदै आएको कर शून्यमा झार्दै बैंक ब्याजदरलाई एक अंकमा कायम राखे बन्द हुने अवस्थामा पुगेका सिमेन्ट उद्योगलाई जोगाउन सकिने अध्यक्ष अग्रवाल बताउनुहुन्छ ।
नेपाली सिमेन्ट उद्योगहरुले वर्षौदेखि माग गर्दै आएको भारतीय गुणस्तर चिन्ह् बि.आइ.एस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारततर्फ निर्यात हुने र त्यसले उद्योगसँगै नेपाली अर्थतन्त्रलाई समेत टेवा पुग्ने उद्योगपतिहरुको भनाइ रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्