एमालेको संकल्प यात्रा: प्रदीप ज्ञवालीलाई ४ प्रश्न ?

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पश्चिम नेपालको बैतडी जिल्लास्थित झुलाघाटबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार पाँचथरको चिवाभन्ज्याङ पुरा गरेर औपचारिक रूपमा समापन भएको छ ।

गत मंसिर १४ गते झुलाघाटबाट सुरु भएको १८७९ किलोमिटर लामो यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक र विज्ञ सम्मिलित थिए ।

विशेषगरी, मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न मध्यपहाडी लोकमार्गलाई आधार बनाएर एमाले यात्रामा निस्किएको थियो ।

आइतबार यात्राको समापन गर्दै पार्टी अध्यक्ष ओलीले संकल्प यात्रा देशको माया गर्नेहरूलाई जोड्ने यात्रा रहेकोले यसले विविधतालाई एकतामा बदल्ने र समस्याहरुलाई समाधानमा पुर्‍याउन सहयोग पुग्ने बताउनुभयो ।

‘सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय’ भनिएको समृद्धिका लागि १८ दिनको संकल्प यात्रामा एमालेले के देख्यो ? के बोकेर फर्कँदै छ ?

नेपालटिभीअनलाइनका राजेन्द्र पोख्रेलले एमाले उपमहासचिव प्रदिप ज्ञवालीसँग गरेको कुराकानीको संक्षिप्त अंश:

तपाइँहरुको यात्राको उदेश्य के थियो, जनताको सन्देश के पाउनु भयो  ?

हाम्रो दललाई हामी जनतासँग लैजानु नै यात्राको उदेश्य थियो । विशेषगरी मध्यपहाडी  क्षेत्रको विकासका संभावनाहरुलाई केलाउनु र जनताका बास्तविक समस्या नजिकबाट बुझ्नु नै हाम्रो यात्राको उदेश्य थियो । यात्राले हाम्रो पार्टीको जनाधारललाई थप बलियो बनाएको छ । अर्कोतर्फ मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा विकास आयोजना र उद्योग, पर्यटन लगायतको सम्भावनाबारे बुझ्ने र नजिकबाट हेर्ने अवसर पायौँ । त्यसमा धेरै चुनौतिहरु देख्यौँ ।

मुख्य चुनौति के-के देख्नु भयो त ?

पहाडमा विकासका प्रचुर सम्भावना छन् भन्ने विषय नजिकबाट देखियो । यी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरुको पर्यटनको ठूलो सम्भावना छ । जुन हाम्रो देशको लागि अवसरको विषय हो । यसको सदुपयोगबाट समृद्ध राष्ट्र निर्माण सहयोग पुग्छ।  पहाडी क्षेत्रका धेरै ठाँउहरु पर्यटन र जलस्रोतको भण्डारका रुपमा छन् । त्यसै  खानीहरु छन् जसको प्रयोग गर्न सके राज्यले धेरै लाभ लिन सक्ने अवस्था छ । दु:खद् कुरा त यी तमाम संभावना बीच त्यो क्षेत्रमा देखिएको बसाइ सराइँ भने मुख्य चुनौतिको रुपमा देखियो । कतिपय क्षेत्रमा विद्यालय रित्तिँदै छन् । गाउँ-बस्ती युवाविहीन हुने अवस्था छ । विकास निर्माणका आयोजनाहरुले जुन गति पाउनु पर्ने हो त्यो पाउन सकेको छैन । यो समग्र देशको चुनौति हो । अब राजनीतिलाई उत्पादनसँग नजोड्ने हो भने युवा पलायन र यस क्षेत्रको बसाइ सराइँ रोक्न सक्ने अवस्था छैन ।

तपाइँहरु यात्रा गर्नु पहिले र यात्राकै क्रममा अहिलेको राजनीतिक व्यवस्थाप्रति विरोधका स्वरहरु आइरहेका थिए ।  ती क्षेत्रमा चाहिँ के पाउनु भयो ?  

जनतामा ब्यवस्थाप्रति उपेक्षा होइन, आशा छ । हाम्रो यो यात्रमा जनताको जुन  सहभागिता  र उत्साह देखियो, त्यो एमालेमाथिको मात्र विश्वास होइन । वर्तमान संविधान,राजनीतिकदल ब्यवस्थामाथिको विश्वास हो । यसैगरी, सबै दलहरु जनताको माझ जाने हो भने व्यवस्था उल्टाउन चाहनेहरु आँफै निस्तेज भएर जाने छन् । काठमाडौँमा बसेर आलोचना गरेर होइन । जनताको वीचमा जाँदा नै ब्यवस्था थप बलियो हुन्छ । जनता लोकतन्त्रको पक्षमा छन्, गणतन्त्रका पक्षमा छन् ।

अब काठमाडौँ  फर्किएपछि जनताका सन्देश कसरी सम्बोधन गर्नुहुन्छ ?

यात्राको क्रममा हामीसँग हजारौँ मागहरु जनताले राखेका छन । ज्ञापन पत्रमार्फत ती जनताका मागहरु संकलन पनि भएका छन । यी मागहरुको सम्बोधन र सुनुवाइका लागि सरकारको  ध्यानाकर्षण गराउछौँ । सदनबाट पनि सरकारलाई  जनताको माग पूरा गर्न दवाव दिन्छौँ । आवश्यक पर्‍यो भने सडक आन्दोलन गर्नुपर्ने अवस्था पनि निर्माण होला । जनताले जुन नासो र गुनासो हामीलाई बुझाउनु भएको छ, जसरी हुन्छ त्यसलाई हामीले कार्यान्वनमा लैजाने छौँ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.