जेष्ठ नागरिकको सेवा र सम्मानमा नागर्जुन नगरपालिकाको अभियान

काठमाडौँ- स्थानीय तहले सामाजिक सुरक्षा अन्तर्गत गर्ने महत्वपूर्ण काम मध्ये एउटा हो- बृद्धबृद्धालाई सेवा र सहयोग ।
सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउन कतिपय स्थानीय तहहरुले शुरु गरिसकेका छन भने कतिपयले फरक काम गरेर जेष्ठ नागरिकको सम्मान र सेवा गर्न थालेका छन ।
यसैक्रममा चिसो याम शुरु भएसँगै नागर्जुन नगरपालिकाले पालिका भित्रका जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट र औषधि वितरण गरेको छ ।
नगरपालिका भित्रका १० वटै वडामा रहेका ८५ बर्ष भन्दा माथिका बृद्धबृद्धालाई वडा प्रतिनिधिहरुमार्फत सो सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
यसैबीच, नागर्जुन वडा नम्बर ४ मा रहेका ८५ बर्षभन्दा माथिका १६ जना जेष्ठ नागरिकलाई आज अध्यक्ष लक्ष्मीराम शर्माले ब्लाङ्केट, आयुर्बेधिक औषधि र आतेजाते खर्चबापतको रकम वितरण गर्नुभयो ।
वडाहरुमा रहेका अशक्त जेष्ठ नागरिकहरुलाई भने घरघरमै सेवा उपलब्ध गराइने नागर्जुन नगरपालिका वडा नं ४ का अध्यक्ष शर्माले जानकारी दिनुभयो।
वडाले जेष्ठ नागरिकको सम्मान र सेवाका लागि सिमित श्रोत र साधनको बाबजुद पनि बर्षेनी कुनै न कुनै काम गरिहरको वडाअध्यक्ष शर्माले बताउनुभयो ।

नागर्जुन नगरपालिका भित्र ८५ बर्ष माथिका मात्र १७० जना जेष्ठ नागरिकको बसोबास रहेको महिला तथा बालबालिका शाखाकी प्रमुख सीतादेवी सोतीले जानकारी दिनुभयो ।
यो संख्या नगरपालिका भित्रबाट सामाजिक सुरक्षा भत्ता लिनेहरुको मात्र भएको उहाँको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्