एक महिनाभित्र उपत्यकामा मेलाम्चीको पानी वितरण गर्ने समझदारी

काठमाडौं- अबको एक महिनाभित्र काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्नेगरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाईड्रोबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मङ्गलबार राती अबेरसम्म बसेको समितिको बोर्ड बैठकको निर्णय अनुसार समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।
समझदारी पत्रमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकी अहम्मद अन्सारी र निर्माण कम्पनी सिनोहाइड्रोका प्रतिनिधिले हस्ताक्षर गर्नुभयो ।
निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी गरी तत्काल साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समझदारीअनुसार अनुसार कुनै विशेष परिस्थितिको सिर्जना नभएमा बढीमा २८ दिनभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न गरी मेलम्चीको पानी सुरुङमा पथान्तरण गरिने छ ।
त्यसैगरी, द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गरिने छ ।
२०८० साल असार ८ गते वर्षायामको जोखिमलाई मध्यनजर गरी सुरुङमार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो । २०८० साल साउन २८ र साउन २९ गतेको बाढीले मेलम्चीको हेडवर्क्समा क्षति पुर्याएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्