एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।
जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिनुभयो ।

“नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आव २०७७-७८ मा ८२, २०७८÷७९ मा एक सय सात जना र २०७९÷८० मा एक सय २० जनामा एचआइभीको सङ्क्रमण भेटिएको छ”, उहाँले भन्नुभयो । गत आ.वमा भेटिएका एक सय २० जना एचआइभी सङ्क्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् ।

“सङ्क्रमितमध्ये ५१ पुरुष र ४८ महिलासहित ९९ जनाले निरन्तर औषधि खाइरनुभएको छ”, उहाँले भन्नुभयो, “पाँच पुरुष र चार महिलासहित नौ जना यस जिल्लाबाट आफ्नै जिल्ला गइसकेका र पाँच पुरुषले औषधि सेवन गर्न छाडेका छन् ।”

सन् २०३० सम्म एचआइभीको सङ्क्रमणलाई अन्त्य गर्ने सरकारको नीति भए पनि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एचआइभी सङ्क्रमितको सङ्ख्या भने बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले बताउनुभयो ।

“स्वास्थ्य कार्यालयमार्फत पालिकाहरूले पनि नीतिगत योजना बनाएर एचआइभी सङ्क्रमितको स्वास्थ्योपचारदेखि जीविकोपार्जनलगायतका कार्यमा ध्यान दिनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “लुकेर बसेका कैयौँ रोगी छन्, कैयौँ सङ्क्रमित छन् त्यस्तालाई हेला गर्नु हुँदैन भन्ने सचेतना जगाउनेदेखि उनीहरूको जीविकोपार्जनका विषयमा स्थानीय तहदेखि नै योजना बनाउन आवश्यक छ ।”

अझै पनि समाजमा एचआइभी सङ्क्रमित र तिनका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताउनुभयो ।

“जिल्लामा सङ्क्रमित र प्रभावितका विभिन्न खालका समस्या रहेकाले सङ्क्रमितहरू सार्वजनिक हुन नचाहेकाले पनि समन्वय गर्न चुनौती रहेको देखिन्छ”, उहाँले भन्नुभयो, “एचआइभी सङ्क्रमित हुनु जीवनको अन्त्य होइन नयाँ जीवनको सुरुआत हो भन्ने चेतना समाजमा अझै पुग्न बाँकी देखिन्छ ।”

नियमित औषधि सेवन गर्न, रोग नलुकाउन र आफू सङ्क्रमित भए पनि अरू सङ्क्रमित नहुन् भन्ने जनचेतना ग्रामीण भेगसम्म पुर्याउन आवश्यक रहेको पौडेलले बताउनुभयो ।

“सङ्क्रमित भएपछि जीवन सहजरूपमा चलाउन सकिन्छ, सङ्क्रमितले पनि उपचार अवसर र साथ पाएमा लामो समयसम्म बाँचेर समाज परिवर्तन गर्न सक्छन्”, उहाँले भन्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.