गुल्मीमा योजनाको गुणस्तर कायम गर्न उपभोक्ता समितिलाई तालिम

गुल्मी- गुल्मी जिल्लामा खानेपानी उपभोक्त समितिलाई पहिलोपटक तालिम प्रदान गरिएको छ । खानेपानी आयोजनाको मुहान तथा संरचनाहरुलाई संरक्षण गरौं, आयोजनालाई दिगो बनाऔं भन्ने नाराका साथ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले योजनाको गुणस्तर कायम गर्नका लागि तालिम प्रदान गरेको हो ।
जिल्लाभर रहेका १ सय ३५ खानेपानीका उपभोक्ता समितिलाई तालिम प्रदान गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका प्रमुख अनुज उपाध्याले बताउनुभयो । जिल्लाभर यस आर्थिक वर्षमा १ सय ७१ वटा खानेपानी आयोजनाहरु समावेश हुँदैछन् ।
ती खानेपानी आयोजनाहरु सम्पन्न गर्दा आइपर्ने विभिन्न समस्याहरु समाधान गर्नका निम्ति उपभोक्ता समितिलाई यस्तो खालको तालिम प्रदान गरिएको उपाध्यको भनाइ छ ।
तालिममा उपभोक्ता समितिले आयोजनाको लागि छाप बनाउनेदेखि, मर्मतसंभारकोष, संस्था र प्यान दर्ता,पानी महसुल निर्धारण, जिन्सी अभिलेख लगायत सरसफाई कसरी गर्ने जस्ता विभिन्न जानकारी प्रदान गरिएको थियो ।
जिल्ला यसवर्ष विभिन्न खानेपानी आयोजनाहरु सम्पन्न गर्नका लागि २३ करोड ३९ लाख १७ हजार रकम बजेट बिनियोजन भएको छ । उपभोक्ता समितिलाई खानेपानीको मुहानदेखी पिउँने अवस्थासम्म सरसफाइका साथै यसबीचमा गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी गराइएको थियो ।
जिल्लाका १२ वटै स्थानीय तहमा रहेका खानेपानी उपभोक्ता समितिलाई एक दिनभर विभिन्न विषयहरुमा तालिम प्रदान गरिएको थियो । उपभोक्ता समितिका पदाधिकारीले सिकेको ज्ञानलाई गाउँमा गएर जानकारी गराउने र सोही अनुसार ब्यबहारमा लागु गर्नुपर्नेमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका प्रमुख उपाध्याले जोड दिनुभयो ।
तालिमबाट धेरै ज्ञान सिकेको जैसीथोक खानेपानी योजनाका अध्यक्ष निमबहादुर पाण्डेले बताउनुभयो । उहाँले आफू लामो समय अवधिसम्म उपभोक्ता समितिको अध्यक्ष भएर काम गरे पनि पहिलो पटक यस्ता कुराहरु सिक्न पाएकाले निकै फलदायी भएको पाण्डेको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले खानेपानीमा दिगोपना सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानीको माध्यमबाट विभिन्न रोगहरु फैलन सक्ने भन्दै सरसफाइमा ध्यान दिन र सचेत रहन उहाँले आग्रह गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्