भारतबाट आएका २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, भारतमा कोरोनाबाट तीन जनाको मृत्यु

कैलाली- भारतबाट कैलालीको गौरीफन्टा नाका भएर आएका २ जनामा कोरोना संक्रमण देखिएको छ । सीमा नाकामा हिजो र आज एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको बेंग्लोर र चेन्नईबाट आएका हुन् । हिजो २० जनाको एन्टिजेन परिक्षण गर्दा भारतको बेंग्लोरबाट आएकी कञ्चनपुरको पुनर्वास नगरपालिका ५ की २२ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।
आज पनि ५५ जनाको एन्टिजेन परीक्षण गर्दा भारतको चेन्नईबाट आएका धनगढी उपमहानगरपालिका ११ का ५५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सीमा नाकास्थित हेल्थ डेस्कका ल्याब टेक्निसियन जयराज ढुंगानाले जानकारी दिनुभयो ।
दुवै जनामा देखिएको संक्रमण कुन भेरियन्ट हो भन्ने पत्ता लगाउनका लागि थप जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको छ ।
संक्रमण देखिन छाडेपछि गत साउन यता एन्टिजेन परीक्षण बन्द गरिएकोमा भारतमा संक्रमण देखिएपछि हिजोदेखि यो नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण पुनः सुरु गरिएको हो ।
भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जे एन वानका पहिलो बिरामी पत्ता लागे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । भारतमा भेटिएको कोरोना ओमिक्रोनको सव भेरियन्ट भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्