मकवानपुरमा बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु

मकवानपुर- जिल्ला खेलकुद विकास समिति मकवानपुर र औद्योगिक शान्ति नेपाल काठमाडौंको संयुक्त आयोजनामा मकवानपुरमा बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ ।
हेटौंडा–१० टिसिएन चौरमा सुरु भएको महोत्सवको बागमती प्रदेशकी वन तथा वातावरणमन्त्री मसिना खड्का भण्डारीले उद्घाटन गर्नुभयो ।
उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले संस्कारले सुसज्जित खेलाडीहरुले नकारात्मक भावलाई त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले खेलमा हारजित सुनिश्चित भएकाले हारबाट आगामी यात्राको लागि पाठ सिक्न खेलाडीलाई आग्रह गर्नुभयो । “खेलाडीमा आफ्नो राष्ट्रलाई उचाईमा पुराउन सक्ने क्षमता हुन्छ, अनुसासनमा रहँदै दृढ आत्मसंकल्पका साथ खेल क्षेत्रमा अगाडी बढ्नुस्” मन्त्री भण्डारीले भन्नुभयो । “खेलले मानिसलाई स्वस्थ बनाउन मद्दत गर्छ ।”
महोत्सवमा विभिन्न धर्म संस्कृतिका झाँकी प्रदर्शनी समेत गरिएको थियो । १३ दिन सम्म चल्ने महोत्सवमा १३ विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिने आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले बताउनुभयो ।
खेलकुद तथा व्यापार महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान समेत राखिएको छ । मेलामा २ सय ६० स्टल रहेका छन् । महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिएको अध्यक्ष खड्गीले बताउनुभयो ।
महोत्सवमा दैनिक रुपमा नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहनेछ महोत्सवबाट प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवबाट समितिले करिब २० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्