तातोपानी कुण्डमा नुहाउनेको संख्या बढ्दाे

म्याग्दी– प्राकृतिक चिकित्सालयको उपचारस्थलका रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको तातोपानी कुण्डमा नुहाउने बिरामीको संख्या बढ्दै जान थालेको छ ।

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी, सर्वसाधारण र पर्यटकहरुको पछिल्लो समय आगमन बढ्दै गएको हो ।
अहिले दैनिक रुपमा पाँचसय जना बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले स्नान गर्दै आइरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । तातोपानीमा रहेको मुख्य कुण्डमा नियमित चारसय जना बिरामीहरुले स्नान गरिरहेका छन्भने बाहिरको पोखरीमा एकसय जना सर्वसाधारण र पर्यटकहरुले नुहाउने गरेको उहाँले बताउनुभयो ।
तातोपानीको मुख्य पोखरीमा स्नान गर्नका लागि प्रतिव्यक्ति तीनसय ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने बाहिरको पोखरीमा प्रतिव्यक्ति एकसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तीनसय ५० रुपैयाँको टिकट लिएका बिरामीहरुले पालोअनुसार एक हप्तासम्म नुहाउन पाउँछन् भने बाहिरको पोखरीमा एकसय रुपैयाँको टिकटले दुई घण्टा नुहाउन पाइन्छ । तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरमा संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँचजना शिक्षकको तलब÷भत्तामा लगानी र बेनी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ ।
तातोपानी कुण्डमा नुहाउन शुक्रवार, शनिवार र विदाको दिनमा धेरै भीड लाग्ने गर्दछ । म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नका लागि नेपालको अधिकांश जिल्लासहित छिमेकी देश भारत र तेस्रो मुलुकहरु जापान, कोरिया, युरोपियनलगायत देशहरुबाट भ्रमणको क्रममा आएर पर्यटकहरुले पनि नुहाउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
जमिन मुनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा विरेनुनको स्वादमा निस्कने तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, घाउखटिरा, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, नसा च्यापिएको, बज्रिएको सड्किएको र मर्किएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ । कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि पुनः फर्किएर पटकपटक आउने गरेका छन् ।
तातोपानी कुण्डमा वार्षिक झण्डै २० हजार भन्दाबढी बिरामीहरु स्नान गर्न आउने गरेको तथ्याङ्क रहेको छ । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापनको साथै कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.