अवैध उत्खननमा प्रयोग भएको एक्साभेटरसहित दुई जना पक्राउ
सिरहा- सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका-१ बल्टियाको वन क्षेत्रमा पर्ने कमला किनारबाट एउटा एक्साभेटरसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
डिभिजन वन प्रमुख सुजितकुमार झाका अनुसार कर्जन्हाको बन्दीपुरस्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले बल्टियाको वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट प्रारम्भिक वातावरणीय परीक्षण नगरी खन्दै गरेको अवस्थामा एक्साभेटरसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
‘वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन् गरिरहेको अवस्थामा एक थान एक्साभेटरसहित चालक प्रदिपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई नियन्त्रणमा लिइएको हो’ उनले भने ‘नियन्त्रणमा लिइएकाहरुलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालेका छौं ।’
डिभिजन वनले ४ पुसमा सिरहा जिल्ला अदालतमा कानुन विपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको आरोपमा सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रंजित कुमार सिंह र वन वरुण कन्सट्रक्नका प्रोप्राइटर निलम कुमारी यादव, अवैध उत्खनन्मा संलग्न आठ जना ट्याक्टर तथा जेसिवी चालक र सात जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्