पुनःआन्दोलन गर्ने मिटरब्याजविरुद्ध संघर्ष समितिको चेतावनी

सिराहा- मिटरब्याजविरुद्धको संघर्ष समितिले पुनः आन्दोलनमा गर्ने चेतावनी दिएको छ । सरकार मिटरब्याज पीडितहरुसँग भएको सहमतिप्रति इमानदार नदेखिएको भन्दै मिटरब्याजविरुद्धको संघर्ष समितिले पुन: आन्दोलनको चेतावनी दिएको हो ।
सिरहाको लहान नगरपालिका–१२ स्थित सलहेश फुलबारीमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले सात बुँदे माग पनि अघि सारेको छ ।
मिटरब्याज सम्बन्धी मुद्दालाई कडाइका साथ समाधानका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने, साहुमहाजनले आफूविरुद्ध उजुरी परेपछि अदालत मार्फत ल्याउने निषेधाज्ञा सम्बन्धी सवाल सरकारीस्तरबाट समाधान गरिनुपर्ने, अनुचित लेनदेन सम्बन्धी परेको उजुरी किनारा नलगाउन्जेल साहुमहाजनले अदालतमा हालेको लेनदेन सम्बन्धी मुद्दाको तत्काल फैसला गरिनुपर्ने माग समितिको छ ।
यसैगरी, वडा कार्यालयमा हुने कपाली तमसुक प्रमाणीकरण र दर्ता प्रक्रियाको निगरानी गरिनुपर्ने, मिटरब्याजीलाई कानुनी कारवाही गरिनुपर्ने, आयोग र जिल्ला सहायता कक्षमा पीडित र साहुबीच भएका सहमति कार्यान्वयन गरिनुपर्ने, सरकार मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालबीच भएको पाँच बुँदे सहमति अक्षरसः पालना गरिनुपर्ने माग पनि समितिले गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्