रास्वपाको पैदलयात्राको पहिलो दिन ४१ किलोमिटर पूरा

नवलपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वले सोमबार बिहान गैंडाकोटबाट थालेको दबाबमूलक पैदलयात्रा डण्डाबजार पुगेको छ ।
टोलीले पहिलो दिन ४१ किलोमिटर पैदलयात्रा गरेर सोमबार साँझ कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाको सिमानामा पुगेर बास बसेको रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो ।
नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन रास्वपा सभापति लामिछाने नेतृत्वको टोलीले गैँडाकोटको भृकुटीचोकदेखि बुटवलसम्म दबाब यात्रा सुरु गरेको हो ।
पाँच वर्षमा सकिनुपर्ने काम अवधि सकिएर म्याद थप हुँदा पनि आधा प्रगति नहुँदा जनताको दैनिकी, व्यापार व्यवसाय, सवारीसाधन, यातायात व्यवसाय सबैले कष्टकर जीवन भोग्नुपरेकोले सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रा गरिएको लामिछानेले पत्रकार सम्मेलनमा बताउभयो ।
तीन दिनसम्म हुने दबाब यात्रामा टोलीले बुटवलसम्म ११३ किलोमिटर दूरी पार गर्ने छ । टोलीमा पार्टी सभापति लामिछानेसहित सांसद हरि ढकाल, मनिष झा, केन्द्रीय सदस्य राजन गौतम, दीपक बोहरालगायत छन् ।






प्रतिक्रिया राख्नुहोस्