सरुवा गरेको भन्दै बगनासकालीका स्वास्थ्यकर्मी आन्दोलित

पाल्पा- पाल्पाको बगनासकाली गाउँपालिकाका स्थास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । पालिकाले अवैधानिक रुपमा स्थास्थ्यकर्मीको सरुवा गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
१८ जना कर्मचारीहरूको सरुवा बदर गर्न बगनासकाली गाउँपालिकाका कर्मचारीले माग गरेका छन् । घरपायक सेवा गर्दै आएका स्वास्थ्यकर्मीले सरुवाको विरोध गर्दै बदर गर्न माग गरेका हुन् ।
बगनासकाली गाउँपालिकाले गत कात्तिकमा स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो । तीन महिनाअघि नै निर्णय गरेपनि पुस लागेपछि उक्त निर्णय कार्यान्वयन गर्न कर्मचारीलाई पत्र पठाएपछि स्वास्थ्यका कर्मचारीहरूले सरुवाको विरोध गरेका हुन् ।
सिअहेब र अहेब तथा सिअनमी पदमा कार्यरत कर्मचारीले सरुवा स्थानीय स्वास्थ्य सेवा ऐन २०७९ को परिच्छेद ७ को दफा २१ को उपदफा ४ को मर्म र भावना विपरीत रहेको जनाएका छन् ।
उनीहरूले सरुवामा घर नजिकैको वडामा रहेको स्वास्थ्य चौकीमा सरुवाको माग गरेका हुन् । सरुवा बदरको माग गर्दै उनीहरू पालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद लम्साललाई निवेदन बुझाएका छन् ।
बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले भने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्मचारीको सरुवा गरिएको बताउनुभयो । कर्मचारी व्यवस्थापन गरी उपचारको सेवालाई प्रभावकारी बनाउन सरुवा गरेको अध्यक्ष चिदीले बताउनुभयो ।
स्वास्थ्य शाखाका संयोजक मणिराम अधिकारीले भने कर्मचारी सरुवाको विषयमा स्वास्थ्य शाखालाई जानकारी नभएको बताउनुभयो । उहाँले स्वास्थ्य शाखासंग सल्लाह र समन्वय नगरी सरुवा गर्दा स्वास्थ्यकर्मीहरु आन्दोलित भएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्