प्रधानमन्त्री दाहाललाई निर्वाचन क्षेत्रका कार्यकर्ताले सम्झाए धुलोरहित सडक बनाउने चुनावी वाचा

गाेरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन क्षेत्रका कार्यकर्ताले चुनावमा गरेको बाचा पूरा गर्न ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्रको अध्यक्ष समेत रहनुभएका प्रचण्ड पार्टीले सन्चालन गरेको तीन महिने अभियान अन्तर्गत वारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ८ को पार्टी कमिटी बैठकमा सहभागी हुन गोरखा पुग्नुभएको समयमा कार्यकर्ताले ध्यानाकर्षण गराएका हुन ।
सो ठाउँ गत प्रतिनिधिसभा निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको गोरखा निर्वाचन क्षेत्र नम्वर- २ अन्तर्गत पर्दछ ।
वडा कमिटी बैठकमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले निर्वाचित भएको एक वर्ष भैसक्दा पनि प्रधानमन्त्रीले चुनावका बेला गरेका बाचा पूरा हुने सुरसार नदेखिएको गुनासो गरे ।
बैठकमा धारणा राख्दै वारपाक सुलिकोट- ४ सौरपानीका हरि पनेरुले भन्नुभयो-‘प्रधानमन्त्रीज्यूले चुनावको बेला आफ्नो निर्वाचन क्षेत्रभित्रका सडकलाई धुलोरहित बनाउछु भन्नुभएको थियो, निर्वाचित भएको र प्रधानमन्त्री भएको एक वर्ष पूरा भैसक्यो तर बाचा पूरा हुने सुरसार देखिएन, हामीलाई पहिलो गासमै ढुंगा लागे जस्तो भएको छ ।’ पनेरुले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रभित्र पर्ने सौरपानी वारपाक सडकमा बजेट अभाव भएको, घ्याम्पेसाल ताकुकोट सडक कालोपत्रेमा ढिलाई भएको लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभयो ।
‘ढोडेनीदेखी रन्चोक सम्मको सडक दुई वर्षभित्र कालोपत्रे गर्छु भनेर स्थानीय बासिन्दासङ्ग लिखित सहमतिनै गर्नुभएको थियो’ सहमतिपत्र देखाउदै पनेरुले प्रचण्डलाई प्रश्न गर्नुभयो, ‘दुई वर्षमध्येको एक वर्ष पूरा भैसक्यो, अब एक वर्षमा उक्त सडक कसरी कालोपत्रे गराउनुहुन्छ ?’
यस्तै बैठकमा बोलेका अन्य सहभागीहरूले प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा पर्ने वारपाक सुलिकोट गाउँपालिका बिकासको हिसावले नाकावन्दीको अवस्थामा रहेको गुनासो गरे । पालिकाको कुनै पनि सडक बाह्रै महिना गाडी चल्ने अवस्थाको नरहेको बताएका छन् ।
पार्टी कार्यकर्ताको गुनासो सुनेपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष विभिन्न अलमलका कारण आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गर्न नसकिएको बताउनुभयो ।
‘निर्वाचन लगत्तै एउटा परिस्थितिमा सरकार बन्यो र मैले त्यो सरकारको नेतृत्व गर्न पाएँ, पछि फेरि राजनीतिक कोर्स फेरियो म फेरि गठबन्धनको प्रधानमन्त्री बनें’ उहाँले भन्नुभयो, ‘ त्यतिबेलासम्ममा नीति तथा कार्यक्रम बनिसकेको थियो, त्यसैले गत वर्ष पर्याप्त ध्यान पुग्न सकेन, आगामी बजेटमा म उचित सम्बोधनको प्रयास गर्नेछु ।’
वडा कमिटी बैठकमा बोल्दै वडा कमिटी अध्यक्ष फणीन्द्र पनेरुले पार्टीभित्र अवसरवादी प्रवृत्ती हावी हुँदै गएको र त्यसले गर्दा ईमान्दार कार्यकर्तालाई निराश तुल्याएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.