बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उहाँले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गर्नुभयो ।

‘‘बूढीगण्डकी आयोजना के होला ? कसो होला ? भन्ने भइरहेको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’’

एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उहाँले बताउनुभयो । “यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र सम्बृद्धिका निम्ति तथा रोजगारीको अवसर पनि हुन्छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसदसमेत रहनुभएका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आँपपिपल अस्पताललाई ५० शय्याका रुपमा विकास गरे जिल्लाको स्वास्थ्य क्षेत्रमा आमूलपरिवर्तन ल्याउन सकिने र त्यसका लागि आधार तयार पार्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.