प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणको सक्रियता : महशुल नतिर्ने थप उद्योगको लाइन काटिने

काठमाडौँ- घरायसी प्रयोजनका लागि जोडिएको विजुलीको महशुल तिर्न एक महिनामात्र ढिला भएपनि विद्युत प्राधिकरणले चर्को जरिवाना लिन्छ । केही महिना मात्र महसुल तिरेन भने लाइन नै काटिदिन्छ । तर उद्योगहरूले अरबौँ रुपैयाँ महशुल नतिर्दा महशुल उठाउन प्रधानमन्त्रीकै निर्देशन पर्खनुपर्ने अवस्था प्राधिकरणलाई किन आयो ? यतिखेर प्रश्न उठेको छ ।

 नेपाल विद्युत प्राधिकरणले ६१ वटा उद्योगहरूसँग २२ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता महशुल उठाउन सकेको छैन । अरबौँ रुपैयाँ बक्यौता भएपछि पैसा उठाउन प्राधिकरणलाई हम्मे हम्मे परेको थियो ।

त्यसपछि  पैसा नतिर्ने उद्योगको लाइन नै काट्न प्रधानमन्त्रीले निर्देशन नै दिनुपर्‍यो । प्रधानमन्त्रीको निर्देशनपछि मात्र अहिले प्राधिकरणले ९ वटा उद्योगको लाइन काट्देको छ । अब अझै कति उद्योगले तिर्न बाँकी छ र कहिलेसम्म तिर्न ताकेता गरिएको छ भन्ने तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको छ । र महशुल नतिर्ने थप उद्योगको लाइन काट्ने चेतावनी पनि प्राधिकरणले सँगै  दिएको छ।

त्यसका लागि प्राधिकरणले २५ प्रतिशत महसुल तिरेर  पुनरावलोकन प्रक्रियामा जान सकिने लचकता पनि अपनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  पत्रकार सम्मेलन गरी प्राधिकरणसँग भएका प्रमाणका आधारमा बक्यौता उठाउने बताउनु भएको हो । उद्योगीहरूले विना प्रमाण प्रिमियम थपेर बिल पठाएको तथा बत्ती काटेको आरोप लगाएपछि कार्यकारी निर्देशक घिमिङले पत्रकार सम्मेलन नै गरेर बक्यौताको बारेमा बोल्नुभएको हो ।

प्राधिकरणका अनुसार मंसिर मसान्तसम्ममा ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ  बक्यौता रकम छ । जसमध्ये करिब १२ अर्ब ५० करोड रुपैँया हालै लाइन काटिएका ९ वटा ठूला उद्योगहरूको मात्र छ ।

डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद भने पुरानो हो । जुन अदालती प्रकृयामा समेत छ । त्यसो त डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी ४५ वटा मुद्दा आफ्नो पक्षमा फैसला भएको प्राधिकरणको दाबी छ ।

उपभोक्ताले विगतमा दैनिक रुपमा १७/१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेको बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैर व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टा भन्दा बढी विद्युत प्रयोग गरेको प्राधिकरणको भनाइ छ ।

 २ सय ३९ ग्राहकमध्ये १ सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियम सहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन । उता उद्योगीहरूले भने विजुलीको मिटर रिडिङको  प्रमाण अर्थात टिओडी उपलब्ध गराउन प्राधिकरणलाई भनेका छन जुन मेटिइसकेको प्राधिकरणको जवाफ छ ।

उद्योगहरूको लाइन काटिएपछि हजारौँ मजदुर बेरोजगार भएको समाचारहरू पनि आएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.