अदालत परिसरमै मिटरब्याजपीडितलाई कुटपिट गर्नेमाथि मुद्दा दर्ता
सिरहा- सिरहा जिल्ला अदालत परिसरमै मिटरब्याज पीडितलाई कुटपिट गर्नेमाथि मुद्दा दर्ता भएको छ । मिटरब्याजी श्याम निरौलाविरुद्ध बिहीबार अभद्र व्यवहारको मुद्दा दर्ता भएको हो ।
सिरहा विष्णुपुरका निरौलाले बकपत्रका लागि अदालत गएका पीडितहरू ककुलतीदेवी यादव र सुकुमारीदेवी साहलाई बुधबार कुटपिट गरेका थिए । घटनापछि मिटरब्याजपीडितले जिल्ला प्रहरी कार्यालयअगाडि बुधबार बेलुकादेखि धर्ना दिएका थिए ।
निरौलालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो । निरौलामाथि अनुचित लेनदेन विषयमा अदालतमा मुद्दा चलिरहेको छ । उनीमाथि चार दर्जनभन्दा बढी उजुरी छन् ।
यसैबीच मिटरब्याजविरुद्धको संघर्ष समितिले जिल्लामा अनुचित लेनदेनका उजुरीमाथि हुने छलफल बहिष्कार गर्ने निर्णय गरेको छ । प्रहरी प्रशासनले मिटरब्याजपीडितलाई न्याय दिनुको साटो झन् अन्याय गरिरहेको आरोप लगाउँदै समितिले छलफल बहिष्कार गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्