षडानन्द नगरपालिकाद्वारा वडास्तरमा योजना सम्झौता

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ ।

नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो ।

भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागार्इंले जानकारी दिनुभयो ।

अभियानमार्फत १४ वटामध्ये भौगोलिक रुपमा अति नै विकट रहेका नौवटा वडामा अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेको उहाँको भनाइ छ ।
अभियानमार्फत वडास्तरीय तथा पालिकास्तरीय योजना सम्झौता, प्रभावकारी रुपमा योजना सञ्चालनसम्बन्धी अभिमुखीकरणसँगै बैङ्कसम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत चापागाईंले बताउनुभयो ।
“अभियानमार्फत भौगोलिक रुपमा विकट रहेका स्थानका वडा–वडाबाट योजना सम्झौता गरेका छौँ,” उहाँले भन्नुभयो, “योजना सम्झौता गर्न आउँदा, जाँदा बढी समयसँगै खर्च हुने भएकाले अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेका हौँ ।

अभिमुखीकरण कार्यक्रम गरिएको हुनाले योजनाको गुणस्तरीयतासमेत बढ्छ भन्ने अपेक्षा लिएका छौँ ।”

नगरपालिकाबाट सञ्चालन हुने योजनालाई आगामी वैशाख महिनाभित्र नै सक्ने लक्ष्यका साथ काम अघि बढाएको प्रशासकीय अधिकृत चापागाईंले बताउनुभयो ।
त्यसका लागि नगरपालिकाले अनुगमनसँगै कार्यान्वयको पाटोलाई कडाइका साथ अघि बढाउने उहाँको भनाइ छ ।
“योजनाको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “हामीले सम्झौताका क्रममा नै यो विषयमा उपभोक्ता समितिलाई सजक गराएका छौँ ।”
नगरपालिकाको सेवा वडाबाट सञ्चालन हुँदा स्थानीयलाई सहज भएको वडा नं १० का अध्यक्ष पेमदोर्ची शेर्पाले बताउनुभयो ।
उपभोक्ता समितिलाई योजनाको सम्झौता तथा अन्य कामका लागि नगरपालिका केन्द्र दिङ्ला पुग्न समस्या हुने गरेको अवस्थामा अभियानमार्फत गरिएको कामले प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ ।

“हाम्रो वडाबाट नगरपालिका केन्द्र पुग्न धेरै समय लाग्छ,” वडाध्यक्ष शेर्पाले भन्नुभयो, “स्थानीयले सहज सेवाको माग गरिरहेका थिए । वडाबाट सेवा दिन पाउँदा खुशी लागेको छ । यसले स्थानीयलाई धेरै सहज भएको छ ।”
भौगोलिक विकटताका कारण नगरपालिका केन्द्र दिङ्लासम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट सेवा प्रदान गरिएको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो ।
स्थानीयलाई सहज सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । भावी दिनमा समेत नगरको सेवालाई थप सहज बनाउने लक्ष्य रहेको प्रमुख उदासले बताउनुभयो ।
“हाम्रा धेरै वडाहरु दुर्गम क्षेत्रमा पर्छन्,” उहाँले भन्नुभयो, “जसको कारण स्थानीयलाई धेरै सास्ती भोग्नुपर्ने अवस्था छ ।
जनताका समस्यालाई ध्यानमा राख्दै अभियान सञ्चालन गरेर सेवा प्रदान गरेका हौँ । जनतालाई दिने सेवालाई सहज र सरल बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.