बालकुमारी घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले दश लाख रुपैंया दिने
गोली चलाउन आदेश दिने प्रहरी अधिकारी र मन्त्री ज्वालाका पिएसओ निलम्बनमा
काठमाडौँ – सरकारले हिजो भएको बालकुमारी घटनामा मृत्यु भएकाको परिवारलाई दश-दश लाख रुपैंया दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अप्रत्यासित रुपमा घटेको घटना प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत स्वरुप दश लाख रुपैंया दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यसैगरी बैठकले उक्त घटनामा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको पनि प्रवक्ता मन्त्री शर्माले जानकारी दिनुभएको छ । ललितपुरको बालकुमारीमा हिजो भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । यसैगरी उक्त घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्