गोरखामा तमु ल्होसार रौनक
गोरखा-तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ । गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार धुमधामले मनाएका हुन् ।
बिरालो बर्गलाई बिदाइ र गरुड बर्गलाई स्वागत गर्दै तमु समुदायले आइतबार धुमधामले ल्होसार मनाएका हुन् । आइतबार बिहान विभिन्न झाँकीसहित मौलिक भेषभुषामा ठाँटिएका तमु समुदायका र्यालीले गोरखा बजार परिक्रमा गरी रङ्गशालामा औपचारिक कार्यक्रमको आयोजना गरेका थिए । तमु ह्युला छोँज धि, गुरुङ राष्ट्रिय परिषदका जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, तमु ह्युला छोँज धि, गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय समितिका उपाध्यक्ष नरबहादुर गुरुङ, आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु राना मगर लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
त्यस्तै तमु ह्युल छोँज धिका केन्द्रीय सदस्य दुर्गा तमु, तमु ह्युल छोँज धि, संरक्षक परिषदका अध्यक्ष टेकबहादुर तमु, प्हे ल्हु संघका जिल्ला अध्यक्ष सूर्यबहादुर तमु, तमु ह्युल छोँज धिका जिल्ला सल्लाहार तेजवीर गुरुङ, जातीय संगठनहरुको तर्फबाट तामाङ घेदुङका श्याम तामाङ, तमुस्यो ह्युल छोँज धिका जिल्ला अध्यक्ष मीनाकुमारी गुरुङ, नेपाल तमु विद्यार्थी संघ, जिल्ला कार्य कार्य समितिका अध्यक्ष मनोज तमु लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
उनीहरुले गोरखा जिल्ला एवं गण्डकी प्रदेश तमु समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले यहाँ तमु एवं अरु आदिवासी जनजातिहरुकै अग्राधिकार हुनु पर्ने बताएका थिए । आइएलओ १६९ मा जल, जमिन, जंगलमा आदिवासी जनजातिको अग्राधिकार हुनुपर्नेमा त्यसो नभइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
ल्होसार गुरुङ समुदायको प्रमुख चाड भएकाले यसको ठूलो महत्व रहेको संरक्षक समितिका संयोजक टेकबहादुर गुरुङको भनाइ छ ।गोरखा गुरुङ समुदायको बाहुल्यता भएको जिल्ला हो । दुईलाख ५१ हजार २७ जनसंख्या रहेको गोरखामा सबैभन्दा धेरै जनसंख्या गुरुङ समुदायको छ । २०७८ सालको जनगणनाअनुसार गोरखामा गुरुङ समुदायको जनसंख्या ५२ हजार २२१ रहेको छ । गोरखाका ११ वटा पालिकामध्य विशेषगरी धार्चे, बारपाक सुलीकोट, अजीरकोट र सिरानचोक गाउँपालिकामा अधिकांश गुरुङ समुदायको बसोबास छ । प्रत्येक गाउँपालिकामा तमु समुदायको बसोबास रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्