यस वर्ष पोखराका ११ स्थानमा ट्राफिक बत्ती जडान
कास्की- पर्यटकीय नगरी पोखराका ११ महत्वपूर्ण स्थानमा ट्राफिक बत्ती (लाइट) जडान सुरु गरिएको छ । जसअन्तर्गत सडक विभागद्वारा पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर र बिरौटामा बत्ती जडान गरिसकिएको छ । ती बत्तीको हाल प्राविधिक परीक्षण भइरहेको र आगामी एक महिनाभित्र संचालनमा आउने विभागले जनाएको छ ।
त्यस्तै पोखरा महानगरपालिकाले महेन्द्रपुल, विपी चोक, हल्लन चोक, हेमजा मिलनचोक, राष्ट्रबैक चोक र रत्नचोकमा बत्तीको निर्माण प्रक्रिया अगाडि बढाएको छ । बत्ती निर्माणका लागि विभागले रु. १ करोड ७२ लाख तथा महानगरपालिकाले रु. २ करोड १५ लाख बजेट विनियोजन गरेका छन् ।
ट्राफिक बत्ती निर्माण भई संचालनमा आएपछि पोखरामा बढ्दो ट्राफिक जाम तथा सवारी दुघर्टना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताउनुभयो ।
यसअघि पोखराको चिप्लेढुङगा तथा महेन्द्रपुल क्षेत्रमा ट्राफिक बत्तीको व्यवस्था गरिएपनि नियमित मर्मत अभावमा ति बत्ती प्रयोगमा आउन सकेका छैनन् । जसकारण प्रहरीले हातको इशारामा सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।
पोखरामा गत आर्थिक वर्ष ०७९-०८० को अन्त्यसम्ममा सानाठूला गरी कुल ३ लाख ११ हजार ५ सय २५ सवारी दर्ता भएको यातायात व्यवस्था कार्यालय पोखराको तत्थाङकमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्