कार्यतालिका बनाएरै दैनिक विद्यालयकाे अनुगमनमा अभिभावक

धनकुटा- सामान्यतया छोराछोरीलाई आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गरेर समयमै विद्यालय पठाउनुलाई अभिभावकले आफ्नो कर्तव्य पूरा भएको ठान्छन् । तर, धनकुटाको साँगुरीगढीका अभिभावक भने नियमित विद्यालय अनुगमन गर्न थालेका छन् ।

विद्यार्थीको शैक्षिकस्तर सुधार्न धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. २ स्थित रामनवमी माविका अभिभावकहरूले दैनिक तालिका बनाएर विद्यालयको अनुगमन गर्छन ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका २६ जनाले तालिका अनुसार विद्यालयको अनुगमन गर्छन । अनुगमनमा जाने अभिभावक हरेक दिन छोराछोरीसँगै विद्यालय पुगेर शिक्षक तथा विद्यार्थीको हाजिरीसहित पोशाकको अनुगमन गर्छन् ।

त्यसपछि अनुपस्थित शिक्षकलाई र विद्यार्थीका अभिभावकलाई फोन गर्ने र कक्षा संचालनको अवस्था अनुगमन गर्छन । अनुगमनका क्रममा भेटिएका समस्या हरेक महिना बस्ने समितिको वैठकमा पेश गर्ने गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ब्रम्हध्वज लिम्बू बताउनुहुन्छ ।

नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी छन् । शैक्षिक सुधारका लागि गरिएको यो अभ्यासले विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको छ । हरेक दिन अभिभावक आएर विद्यालय समयभर अनुगमन गर्दा सहज भएको कक्षा १२ की विद्यार्थी नम्रता इवाहाङको भनाइ छ ।

अभिभावकहरुले सुरु गरेको शैक्षिक सुधारको अभियानलाई विद्यालयका शिक्षकहरुले सहयोग गरिरहेका छन् । अनुगमनकै कारण कमजोर विद्यार्थीलाई कोचिङ कक्षाको व्यवस्था गरिएको छ । अनुगमनका कारण शैक्षिक सुधार गर्न आफूहरुलाई सहज भएको प्रधानाध्यापक गिता चेम्जोङको भनाइ छ ।

शैक्षिक सुधारका लागि रामनवमी माविका अभिभावकहरुले गरेको अभियान अनुकरणीय छ । अन्य सामुदायिक विद्यालयले पनि यसलाई अनुशरण गरेमा अभियानले सकारात्मक सन्देश दिनेमा दुईमत छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.