नेपाल भारत संयुक्त आयोग बैठक: हवाई रुटको विषय प्राथमिकतामा राख्न सुझाब

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आज उहाँले उक्त छलफल गर्नुभएको हो । छलफलका क्रममा पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव दिनुभएको मन्त्री सादउले जानकारी दिनुभयो ।

“उहाँहरुले भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकामा जोड दिँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रुपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिनुभयो” मन्त्री साउदले भन्नुभयो ।

छलफलमा बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि सुझाव प्राप्त भएको उहाँले बताउनुभयो ।

भारतबाट हावाइ रुट उपलब्ध नहुँदा गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन ।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्व परराष्ट्र सचिवहरु मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता रहेको थियो ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेश मन्त्री  जयशंकर पुस १९ गते नेपाल आउदै हुनुहुन्छ ।  नेपाल र भारतका प्रधानमन्त्रीको तहमा हुने बैठक बाहेक यस बैठकलाई सर्वाधिक शक्तिशाली कूटनीतिक संयन्त्रका रूपमा  लिइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.