नेपाल र भारत संयुक्त आयोगको बैठक: के छन् बैठकका एजेण्डा र प्राथमिकता ?

काठमाडौँ- नेपाल र भारत संयुक्त आयोगको सातौँ बैठक भोलि काठमाडौंमा बस्दै छ । प्रधानमन्त्रीको तहमा हुने बैठक बाहेक सर्वाधिक शक्तिशाली कूटनीतिक संयन्त्रका रूपमा लिइने यस आयोगमा दुवै देशका परराष्ट्र मन्त्रीको प्रतिनिधित्व रहन्छ ।

सन १९८७ मा गठन गरिएको यस आयोगलाई दुई देशबीचको परराष्ट्र सम्बन्धलाई नै दिशानिर्देश गर्ने र दुई पक्षीय सम्बन्धका सबै आयामहरूको पुनरावलोकन गर्नेसम्को अधिकार दिइएको छ । हरेक दुई दुई वर्षमा बस्ने भनिए पनि आयोग गठन भएपछि यो बैठक जम्मा ६ पटक मात्र बसेको छ ।

बैठकका एजेन्डाका विषयमा धेरै नखुलाइए पनि बैठकमा विशेषगरी दुई पक्षीय सम्बन्धन, समझदारीका साथै आपसी हितका विषयहरू पुनरावलोकन हुने विज्ञप्ति मार्फत परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

सुरक्षा र सीमा, आर्थिक सहकार्य र पूर्वाधार, व्यापार र पारवहन, ऊर्जा र जलस्रोत र संस्कृति, शिक्षा र सञ्चार जस्ता विषयमाथि संयुक्त आयोगले छलफल गर्ने बताइएको छ । आयोगको बैठकमा परामर्शका लागि दर्जन भन्दाबढी एजेण्डाहरू सम्बन्धित मन्त्रालयलहरुले परराष्ट्र मन्त्रालयमा पठाएका छन् ।

पछिल्लो पटको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देश बीच रहेको सीमा लगायतका विषय छलफल अघि बढाउन सकिने धारणा राख्नु भएको थियो । त्यसैले पनि यस पटको बैठकमा नेपाल भारत सीमा समस्याले समेत प्रवेश पाउन सक्ने परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

प्रधानमन्त्री तहका भ्रमणमा भएका सहमति समझदारीको कार्यान्वयनलाई अघि बढाउने र यसअघि समझदारी भएपनि थाति रहेका विषयहरूलाई कसरी गति दिने र कार्यान्वयनयता लैजाने भन्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

भोलि नै नेपाल र भारतका ऊर्जासचिव १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुने निश्चित भएको छ ।

आयोगको बैठकलाई नेपालले भरपुर उपयोग गर्न सक्नुपर्ने परराष्ट्र मामिला जानकार हरू बताउँछन् । बैठकमा सके सम्म छिटो परिणाम दिने सक्ने र सम्भव विषयहरूलाई प्राथामिकतामा राख्नु पर्ने परराष्ट्र मामिला जानकार प्रा डा जय राज आचार्यको भनाइ छ ।

”मुख्यगरी गौतम बुद्ध पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई रुटको उपलब्धता विद्युत निर्यात लगायतका विषयहरू प्राथामिकतामा राख्नुपर्छ । आचार्यले भन्नुहुन्छ ‘ जस्तो नेपाली लगानी रहेको माथिल्लो तामाकोशीको जलविद्युतको आयोजनाबाट उत्पादीत विजुली चिनियाँ ठेकदारले बनाएको भरमै भारतले किन्दैन भन्ने जस्ता विषयको आंशका मेटाउने काम बैठकले गर्नु पर्छ ।  छिमेकी पहिले हो भन्ने उहाँहरुको नीति हाम्रो उर्जा निर्यातमा देखाउन सक्नु पर्छ ।’

भारतीय विदेशमन्त्री जयशंकरको  कार्यतालिका

आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल बिहिबार विहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गनुहुनेछ । भारतीय वायुसेवा निगमका विशेष विमानबाट नेपाल आउन लाग्नुभएका उहाँलाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमान स्थलमा स्वागत गर्नुहुनेछ ।

जयशंकरसँगै भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू समेत नेपाल आउनुहुनेछ ।

जयशंकरले बिहीबार सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार विदेश मन्त्री जयशङ्करले ११ बजेदेखि देखि ११:३० सम्म करिब आधा घण्टा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुहुनेछ ।

त्यसपछि राष्ट्रपति पौडेलसँगको भेटवार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जानुहुनेछ । उहाँहरूबीच करिव ४५ मिनेट १२ देखि १२:४५ सम्ममा भेटवार्ता हुने छ ।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा आयोजित नेपाल भारत बीचको ‘संयुक्त आयोगको बैठकमा सहभागी हुन कार्यक्रम स्थल दरबारमार्ग स्थित होटल याक एन्ड यती पुग्नुहुने निर्धारित कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दिउँसो १ बजेदेखि सुरुहुने संयुक्त बैठकमा दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर हुनेछ । बैठकपछि उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत शिष्टाचार भेटघाट गर्ने कार्यतालिका रहेको छ । साँझ ६ बजे समकक्षी जयशङ्करलाई लागि परराष्ट्रमन्त्री साउदले दिवाभोज कार्यक्रम राख्नुभएको छ ।

विदेशमन्त्री जयशंकरले शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछि पुनर्निर्माण थालिएका पूर्वाधारको उद्घाटन गर्ने कार्यतालिका रहेको छ । उहाँ शुक्रबार मध्यान्ह भारतीय राजधानी नयाँदिल्ली फर्किने कार्यतालिका छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.