खेल विकासका लागि विद्यालयस्तरबाट अगाडी बढाउनसक्नुपर्छः मन्त्री लिम्बु
काभ्रे- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि विद्यालयस्तरबाट नै बालबालिकालाई अगाडी बढाएर मात्रै उत्कृष्टता हासिल गर्न सकिने बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले विद्यालयस्तरबाट नै खेललाई अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो ।
विद्यालयस्तरबाट नै विद्यार्थीहरुलाई खेलकुदमा आवद्ध गराउनकै लागि प्रतियोगितालाई अगाडी बढाएको उल्लेख गर्नुहुँदै उहाँले अझ यसलाई व्यवस्थित गर्दै लैजान आवश्यक रहेकोमा जोड दिनुभयो ।
शिक्षा विधेयक संशोधनको क्रममा रहेकोले पालिकाहरुबाट खेल र योग शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने भनेर दिएको सुझावलाई आफुले गम्भिरताका साथ राख्ने बताउनुभयो ।
हरेक प्रदेशमा खेलकुद विकास र खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गराउने अभियान अनुसार प्रत्येक बर्ष फरक फरक प्रदेशमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्दै आएको उहाँको भनाई छ । ‘अहिले जति खेल शिक्षाको विकासको लागि प्रयत्न भएको छ । त्यसलाई अझै परिस्कृत गर्दै अगाडी बढाउन आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘संसारमा खेलकुदको क्षेत्रबाट संसारमा शिर ठाडो गरेर हिड्न सक्ने भएकाले सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।’
सो क्रममा प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई अनुशासित रुपमा खेलमा प्रतिस्पर्धा गर्न आग्रह गर्दै अध्ययनलाई पनि उत्तिकै जोड दिन उहाँले आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासम्म आईपुग्दा प्राप्त गरेको क्षमतालाई विकास गर्दै अगाडी बढेको बताउनुभयो ।
अबको शिक्षामा योग र नृत्यलगायतको विषयमा समेत शिक्षा अगाडी बढाउन आवश्यक रहेको भन्दै पालिकाले योग, नृत्य र खेलकुद प्रशिक्षको व्यवस्था गर्ने प्रयन्त गरेको भएपनि प्रशिक्षक प्राप्त गर्न नसकेको उहाँको भनाई छ ।
प्रतियोगिताबाट नै विद्यार्थी र युवाको हरेक क्षेत्रमा प्रगती हुँदै जाने भएकाले त्यसलाई महत्वको रुपमा लिएर प्रतिस्पर्धा गराउन आवश्यक रहेकोमा जोड दिनुभयो । सो क्रममा गाउँपालिका अध्यक्ष भुजेलले गाउँपालिबाट मात्रै सम्भव नहुनेभन्दै हरेक विद्यालयमा खेलमैदान निर्माणका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले सबै विधाका खेलहरु एउटै खेलमैदानबाट गर्न सफल भएको बताउनुभयो । पहिला खेलमैदान नभएर एक ठाउँमा एउटा खेल, अर्को ठाउँमा एउटा खेल गरेर सम्पन्न गर्नुपर्ने बाध्यता नरहेको उहाँले बताउनुभयो ।
उहाँले प्रतियोगिता आयोजना गरेको खेलमैदानलाई व्यवस्थित बनाउन पालिकाले डिपिआर तयार गरिसकेको कारण त्यसलाई पूर्णता दिने काममा साथ दिन मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
भुम्लु गाउँपालिकाको वडा नं. ५ स्थितचौरकुनामा विहीवारबाट भईरहेको प्रतियोगितामा पालिकाभरिका १४ विद्यलायका करिब सात सय जना विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगिता भोली शनिवार समापन हुनेछ ।
उद्घाटन सत्रमा वडा नम्बर ३ बेगसिम्लेमा रहेको वनदेवी माध्यामिक विद्यालय र वडा नम्बर ८ मा रहेको प्रकाश माध्यामिक विद्यालयका विद्यार्थी योग खेल प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्