नेपाली कागजको माग अनुसार भएन उत्पादन

म्याग्दी- म्याग्दीमा पछिल्लो समय नेपाली कागजको माग अत्याधिक भएपनि माग अनुसारको उत्पादन हुन सकेको छैन ।
जिल्लामा नेपाली कागज उत्पादन गर्दै आएको उद्योगमा कच्चा पर्दाथको संकलन कम भएपछि बजारको माग धान्न समस्या परेको हो ।
मालिका गाउँपालिका–६ अधिभारामा संचालनमा रहेको उद्योगले माग अनुसारको कागज उत्पादन गर्न नसकेको मालिका कागज उद्योगका संचालक मोतिराज गौतमले बताउनुभयो ।
कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको गौतमको भनाई छ । ‘जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ’, उहाँले भन्नुभयो, ‘तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ।’
२०७५ सालदेखि संचालनमा आएको उद्योगले अहिले कार्यालयहरुमा चाहिने ए.फो साईजको कागज उत्पादन गर्न थालेको छ, कागजको माग बेनी, बागलुङ संगै पोखरा सम्म रहेको छ । एउटा मात्र उद्योग भएका कारण माग भएजति उत्पादन गर्न नसकेको गौतम बताउनुहुन्छ ।
‘बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन’, उहाँले भन्नुभयोे, ‘बरु कागज उत्पादनका लागि सधैँ कच्चा पर्दाथ र जनशक्तिको अभाव हुने गरेको छ।’
अहिले उद्योगमा ४ जनाले रोजगारी पाएका छन् ।
उद्योग सुरु भएदेखि नै काम गर्दै आउनुभएकी सुमित्रा शेरचनले उद्योगको तलबाटै आफुले घरपरिवारको खर्च टारेको बताउनुभयो । ‘यो उद्योग संचालन भएदेखि नै म काम गरिरहेको छु, शेरचनले भन्नुभयो, कतिजना आएर काम गर्न झन्झट भयो भनेर जानुभयो, अहिले मान्छे पाउन निकै समस्या छ, तर म भने यही उद्योगमा काम गरेर आफ्नो परिवार चलाएको छु ।’ अहिले कागजको भन्दा बढी धुप बनाउने कागवको माग अत्याधिक रहेको छ ।
नेपाली कागज विभिन्न सरकारी कामकाजका अतिरिक्त नोटबुक, फाइल, हलुका र रंगीन बस्तुहरु तयार पार्न बढी प्रयोग गरिने गरेको छ । देविस्थान, रुम, ओखरबोट, बिम, निस्कोट, ताकम, मुना, गुर्जा, मुदी लगायतका क्षेत्रमा पर्याप्त मात्रामा लोक्ता पाइन्छ । दैनिक ५ सय देखी २ हजार सम्म ताउ उत्पादन गर्न सकिने भएपनी मौसममा निर्भर हुने उद्योगमा कार्यरत कर्मचारीहरुको भनाई छ । उद्योगमा अडरको आधारमा कागज उत्पादन गर्ने गरेका छन् । २० र ४० ग्राम रंगीन नोटबुक, फाइल र अन्य सरकारी प्रशासनिक कार्यहरुमा प्रयोग हुन्छ ।
जिल्लाको अन्नपूर्णको नागी, धवलागिरीको लमसुङ, रघुगंगाको पाखापानीमा संचालनमा रहेको उद्योग अहिले बन्द अबस्थामा रहेका छन् । तर उद्योग संचालनका लागि स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको संचालक गौतमको भनाई छ ।
पालिका भित्र उद्योग स्थापना गरी रोजगारी दिनुको सट्टा संचालनमा रहेका उद्योगलाई अनुदान, सहयोग गर्ने तिर कुनै चासो नदिएको उहाँको गुनासो छ ।।






प्रतिक्रिया राख्नुहोस्