जाजरकोट भूकम्प : रुकुम पश्चिममा दश हजार अस्थायी आवस निर्माण
नेपाल टेलिभिजन२१ पुष, १९:१२
रुकुम पश्चिम– गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । अझै पनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन् । दुई महिनाको अवधिमा जिल्लाभर दश हजार चार सय २३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् ।
हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ मात्र निर्माण भएका छन् । त्यस्तै आठबीसकोट नगरपालिकामा तीन हजार १४, चौरजहारी नगरपालिकामा दुई हजार दुई सय ८९, त्रिवेणी गाउँपालिकामा नौ सय ३८ र बाँफीकोट गाउँपालिकामा एक सय १७ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवाले जानकारी दिनुभयो ।
हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार छ सय आठ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रु २५ हजारका दरले रु ५९ करोड दुई लाख रकम पठाइएको छ । स्थानीय विपद् कोषबाट भने २१ हजार एक सय १५ लाभग्राहीले रु २५ हजारका दरले रु ५२ करोड ८१ लाख रकम प्राप्त गरेका छन् । हालसम्म जिल्लाभर २७ हजार छ सय ८२ लाभग्राहीको प्रहरीले लगत सङ्कलन गरेको छ । सङ्कलनको काम अझै जारी रहेकाले लाभग्राहीको सङ्ख्या साढे तीस हजार पुग्न्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्