राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न

काठमाडौं- राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
आज दर्ता भएका उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोधको समय दिएको छ । परेका दावी विरोध र उजुरीका बारेमा २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
पुष २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न भने पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ ।
निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई वटा मतदान केन्द्र कायम गरिएको छ । मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ ।
माथिल्लो सदनका रुपमा रहेको प्रबुद्ध समूहको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ । अघिल्ला वर्षमा जस्तै यस निर्वाचनमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।











प्रतिक्रिया राख्नुहोस्