गोकुल पोखरेल : व्यक्ति एक विशेषता अनेक

काठमाडौँ- नेपालका एकजना प्रबुद्ध तथा बौद्धिक व्यक्तित्व गोकुलप्रसाद पोखरेल अब हाम्रो सम्झनामा मात्र सीमित हुनुभयो । उहाँको निधनले नेपालको शैक्षिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा एक उज्ज्वल नक्षत्रको अस्त भएको छ । राष्ट्रका सबै तह र तप्काका व्यक्ति एवम् सङ्घसंस्थाले गोकुल पोखरेलको महाप्रस्थानमा एक अमूल्य रत्न गुमाएको अनुभव गर्दै सोही अनुसारका उद्गारसमेत सार्वजनिक गरेका छन् । नेपालका अग्रज पत्रकारका रूपमा नेपाली पत्रकारिताको विकास र उन्नयनका लागि उहाँले गर्नुभएको योगदानको विषयमा विमर्शहरू भएका छन् । वास्तवमा पोखरेल पत्रकारितामा मात्र नभएर प्राध्यापन तथा सामाजिक सेवामा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका हस्ती हुनुहुन्थ्यो ।
धनकुटामा पण्डित छविलाल पोखरेलको साइलो पुत्रका रूपमा जन्मनुभएका पोखरेलले धनकुटाकै गोकुण्डेश्वर हाइस्कुलबाट प्रवेशिका र बनारस हिन्दू विश्वविद्यालयबाट उच्च अध्ययन पूरा गर्नुभएको थियो । उहाँले आफ्नो जन्मथलोको धनकुटा कलेजमा २०१९–०२० सालतिर अङ्ग्रेजी विषयको अध्यापकका रूपमा प्राध्यापकीय क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उक्त कलेजमा अङ्ग्रेजी विषय पढाउने पहिलो नेपाली शिक्षक उहाँ नै बन्नुभयो । त्यसबेलामा धरान, विराटनगरलगायतका कलेजमा अङ्ग्रेजी अध्यापकको खाँचो थियो । उहाँले ती कलेजमा पनि पठनपाठन गर्ने अवसर पाउनुहुन्थ्यो तर अध्यापनका लागि धनकुटा नै रोज्नुभयो ।
धनकुटा, धरान तथा विराटनगरमा २०१२ सालमा कलेज खुलेका हुन् । ती सबै कलेजमा प्रायः सबै विषयमा अध्यापनका लागि भारतबाट नै शिक्षक ल्याउनु पर्दथ्यो । यस स्थितिमा उहाँलाई सबैतिरबाट अध्यापनका लागि अनुरोध आउनु स्वभाविकै थियो । किन हो कुन्नि पछि काठमाडौँले उहाँलाई तान्यो । काठमाडौँ आएर भक्तपुर कलेजमा अङ्ग्रेजी विषयकै प्राध्यापक भई केही वर्ष सेवा गर्नुभयो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि उहाँले प्राध्यापनलाई निरन्तरता दिनु भएन । तर, त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषयको पठनपाठन सुरु भएपछि भने उक्त विषयको पाठ्यक्रम निर्माणलगायतका भूमिका निर्वाह गर्दै अध्यापनमा पनि सरिक हुनुभयो । उहाँ पत्रकारिता विज्ञ भएर त्रिभुवन विश्वविद्यालयका विविध शैक्षिक परियोजनामा समेत संलग्न हुनुभएको थियो । आफूलाई पत्रकारभन्दा प्राध्यापक भन्न रुचाउने उहाँको स्वभाव थियो ।
विसं २०३० पश्चात् राष्ट्रिय संवाद समिति, पछि राष्ट्रिय समाचार समितिमा सरिक हुनुभयो । उहाँले राससको महाप्रबन्धक तथा गोरखापत्रको प्रधानसम्पादकको अनुभव समेत बटुल्नुभयो । उहाँ कालान्तरमा गोरखापत्र संस्थानसँग जोडिन पुग्नुभयो । गोरखापत्र, युवामञ्च, युवाजस्ता प्रकाशनमा स्तरीयता कायम गर्न ठूलो कसरत पनि गर्नुभयो । अङ्ग्रेजी र नेपाली दुवै भाषामा बराबर कलम चल्ने नेपालका अग्रज पत्रकारका रूपमा पनि उहाँ अग्रणी हुनुहुन्थ्यो ।
नेपालमा पत्रकारिताको विकासका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएको महसुस गरी भारतदत्त कोइराला, पद्मासना शाक्यलगायतका केही सहयोगीका साथ ‘नेपाल प्रेस इन्स्टिच्युट’को स्थापना गर्नुभयो । उक्त संस्थाबाट दीक्षित भएका व्यक्तिहरू हाल देशकै मूर्धन्य पत्रकार बन्न पुगेका छन् । नेपालमा पत्रकारिता ‘आइसल्यान्डमा सर्प’ जस्तै भएको तत्कालीन सन्दर्भमा त्यस संस्थाले पत्रकारिता विकासको संवाहक हुन सक्छ भन्ने तथ्य प्रमाणित ग¥यो । गोकुल पोखरेल जस्ता सारथिकै कारण पत्रकारिता एवं आमसञ्चारले अभूतपूर्व प्रगति गरी आजको स्थितिमा पुग्न सफल भएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलगायत अनेकौँ निकायमा आमसञ्चार विज्ञ भई सेवा गर्नुभएका पोखरेलले आफूलाई सदैव ‘लो प्रोफाइल’मै राख्न रुचाउनुभयो ।
गोकुल पोखरेल नेपाली समाज सेवाको इतिहासमा समेत स्थापित नाम हो । नेपाल परिवार नियोजन सङ्घको अध्यक्ष भई त्यस संस्थालाई नेपालभरि फैलाउन उहाँ सफल हुनुभयो । यसका साथै आर्य समाज नेपालको अध्यक्ष भई आर्य समाजको आदर्श र सिद्धान्त समाजको रूपान्तरणका लागि आवश्यक भएको वकालत गरिरहनुभयो । नेपाल आँखा अस्पतालको संस्थापक सदस्य भई त्यस संस्थाको सञ्चालक समितिको महासचिवका रूपमा एक कार्यकाल पूरा गर्नुभयो । उहाँले नेपाल जनहित गुठीका उपाध्यक्ष तथा विश्रान्ती मन्दिर धनकुटा जस्ता अनेकौँ सामाजिक सङ्घसंस्थामा रही सेवा गर्नुभएको थियो । मानव अधिकार आयोगमा समेत आयुक्त भई कार्यसम्पादन गर्नुभएका पोखरेल मानवताका एक सरल पात्र हुनुहुन्थ्यो ।
कुनै राजनीतिक दल वा राजनीतिक सङ्गठनसँग संलग्न हुन नचाहने उहाँको स्वभावका कारण राजनीतिक पार्टीहरूले पनि उहाँको अनुभवबाट फाइदा लिने चाहना राखेनन् । सबैतिर उग्र राजनीतिकरण हुँदै जाँदा शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्तताप्रति सदैव उहाँ चिन्तित हुनुहुन्थ्यो । उहाँ प्रबुद्ध वर्ग चुप लागेर बस्न हुँदैन, देखेको कुरा बोल्नु र लेख्नुपर्छ भन्ने सल्लाह दिनुहुन्थ्यो । उहाँले राम्रो कार्यको सराहना गर्न कहिल्यै कन्जुस्याइँ गर्नुभएन । संक्षेपमा भन्ने हो भने आँखामा हाल्दा पनि नबिझाउने कोही थियो भने गोकुल पोखरेल नै हुनुहुन्थ्यो । मृत्यु शाश्वत सत्य छ । यही पुस १६ गते ८८ वर्षको उमेरमा काठमाडौँमा उहाँको निधन भयो ।  यस्ता महान् व्यक्तित्वले उठान गरेका कार्यलाई निरन्तरता दिएमा नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.