कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने, माघ ६ गतेदेखि तीन चरणमा परीक्षा हुने

काठमाडौं- रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ ।

इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन् ।

बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज निर्माण क्षेत्रको भाषा परीक्षामा अनुतीर्ण भएकाहरुलाई पनि अब हुने उत्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।

अब यो परीक्षा तीन चरणमा हुनेछ । परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ । योसँगै इपीएसको परीक्षासम्बन्धी विवाद अब टु‌ङ्गिएको छ । बिभागका निर्देशक कविराज उप्रेतीले भाषा परीक्षासम्बन्धी देखिएको जटिलता टुंगिएको जानकारी दिनुभयो ।

परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परेको छ । पहिलो चरणमा ४७ हजार, दोस्रोमा ८० हजार र तेस्रो चरणमा ३७ हजार जनालाई उत्पादनमूलकतर्फ परीक्षा दिन लगाइनेछ ।

यसअघि पानीजहाज निर्माणको परीक्षामा सहभागी भएका ३२ हजार जनाले उत्पादन क्षेत्रका लागि खुलाइएको भाषा परीक्षामा आवेदन दिन पाएका थिएनन् । त्यसरी बञ्चित भएकाहरुमध्ये केहीले उच्च अदालतमा रिट गरेकोमा अदालतले परीक्षामा सहभागी गराउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि परीक्षामा अनुतीर्ण भएका सबैले फारम भर्न पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । त्यही प्रदर्शनका क्रममा दुई जना युवाको ज्यान गुमेपछि यो विषय झन् जटिल बनेको थियो ।

युवाको मृत्यु नै हुने गरी भएको विरोध प्रदर्शन र अदालतको आदेश समेतलाई ध्यानमा राख्दै सरकारले इपीएसको भाषासम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पहल लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.