आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रगती विवरण
मकवानपुर- बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले चालू आर्थिक वर्षको पाँच महिनाको प्रगती विवरण सार्वजनिक गर्नुभएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०-८१ मा मन्त्रालयको हालसम्मको प्रगती विवरण सार्वजनिक गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले सार्वजनिक गर्नुभएको प्रगती विवरणमा लोपोन्मुख तथा अति सिमान्तकृत समुदायलाई न्यानो फाइबर सिरक वितरण देखि पत्रकारलाई परिचयपत्र वितरण सम्मका कार्य समेटिएको छ ।
बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै मन्त्रालयले ७ गाउँपालिकाका अतिसिमान्तकृत, सिमान्तकृत, लोपोन्मुख तथा वनकरिया समुदायका तीन सय ५७ घरधुरीलाई छ सय ६६ थान फाइबर सिरक वितरण गरेको छ ।
त्यस्तै, एक हजार तीन सय ३७ मनसुनजन्य विपद् प्रभावित र आगलागीजन्य विपद् प्रभावितको आवास पुननिर्माणका लागि प्रदेश सरकारको हिस्सा वापत तीन करोड १७ लाख वितरण गरेको छ ।
कर्णाली प्रदेशका भुकम्प पीडितलाई अन्तरप्रदेश सहयोग स्वरुप खोज, उद्धार,उपचार, राहत तथा पुनस्र्थापनाको लागि १ करोड ५० लाख प्रदान गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागी स्थानीय तहहरुलाई दुई करोड ३५ लाख प्रदान गरिएको प्रगती प्रतिवेदनमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई राहत वितरण प्रयोजनार्थ कुल १० लाख रुपैयाँ र गोलन्जोरमा वेश स्थापना सहयोगको लागि कुल ५ लाख ९६ हजार रुपैयाँ प्रदान गरिएको प्रगती विवरणमा जनाइएको छ ।
यस अवधीमा ८ वटा प्रहरी भवन उद्घाटन हुनुका साथै १९ वटा क्रमागत र ५ वटा नयाँ प्रहरी इकाई भवनको बहुवर्षीय सुनिश्चिता पश्चात निर्माणका लागि जम्मा २६ करोड ५५ लाख रुपैयाँ बागमती प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी एकाईहरुलाई अख्तियारी प्रदान गरिएको छ ।
धुलिखेलमा प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी, रामेछापमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम, काठमाडौंमा सबै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको सहभागितामा प्रहरी समायोजन लगायत मन्त्रालयको कार्यक्षेत्र सम्बन्धी गोष्ठी सम्पन्न भएका छन् ।
प्रहरी समायोजनका लागि प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट यो अवधीमा ऐन, नियमावली, कार्यविधि, मापदण्ड र आदेश गरेर जम्मा १४ वटा कानुन राजपत्रमा प्रकाशित भएको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।
मन्त्रालयले सञ्चार रजिष्टारको कार्यालय मार्फत् प्रदेशका चार सय ४० पत्रकारको सामुहिक दुर्घटना बीमा लागू गरेको छ । १८ अनलाईन पत्रकारिता इजाजत र २५० वाट क्षमताको एफ.एम रेडियो इजाजत प्रदान गरेको छ । ३१ जना महिला पत्रकारलाई समाचार लेखन तथा सम्पादन तालिम, ७८ पत्रकार परिचपपत्र वितरण गरेको विवरणमा जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्