पोखरामा राससको अभिमुखीकरण कार्यक्रम

कास्की- राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा गण्डकी प्रदेशमा कार्यरत राससका समाचारदाताका लागि अभिमुखीकरण कार्यक्रम आजदेखि पोखरामा सुरु भएको छ ।
रासस गण्डकी प्रदेश कार्यालयको संयोजन र गण्डकी प्रदेश सरकारको सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रमको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शुभारम्भ गर्नुभयो ।
सो अवसरमा मन्त्री जुग्जालीले नागरिकमा आशा र सकारात्मक सोचको अभिवृद्धि हुने किसिमका समाचार प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो । सङ्घीयतालगायत मुलुकले हासिल गरेका परिवर्तनका मुद्दाप्रति जनआस्था बढाउने गरी पत्रकारिता क्षेत्रले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
“अहिले सबैतिर निराशा मात्रै बाँड्ने प्रवृत्ति बढ्दो छ, यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ”, मन्त्री जुग्जालीले भन्नुभयो, “पत्रकारलगायत हामी सबैले त्यस किसिमको नकारात्मक प्रवृत्तिको सामूहिक प्रतिवाद गर्नु जरुरी छ ।”
राससले आफ्नो सेवामा विविधिकरणसँगै कर्मचारी र समाचारदाताको दक्षता अभिवृद्धिका लागि जोड दिन मन्त्री जुग्जालीले सुझाव दिनुभयो । राज्यद्वारा सञ्चालित समाचार समिति भए पनि राससले सरकारका राम्रा÷नराम्रा कामलाई औँल्याउनुपर्ने उहाँको भनाइ थियो । राससको भौतिक संरचना निर्माण र सेवाको स्तरीकरणका लागि प्रदेश सरकार रासससँग सहकार्य गर्न तयार रहेको मन्त्री जुग्जालीले उल्लेख गर्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवालाई विविधिकरण गरी अन्तर्राष्ट्रियस्तरको समाचार समिति बनाइने बताउनुभयो । उहाँले निकट भविष्यमा राससको सेवालाई चौबिसै घण्टा विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । “पछिल्लो समय श्रव्यदृश्य सेवा, विचार सेवा र मातृभाषामा समाचार सेवा गुरु गरिएका छन्, यी सेवाप्रति राम्रो प्रतिक्रिया आइरहेको छ”, उहाँले भन्नुभयो, “सेवा विस्तारसँगै जनशक्तिलाई पनि प्रशिक्षित गरिरहेका छौँ, अभिमुखीकरण कार्यक्रम सबै प्रदेशमा सञ्चालन हुँदैछ ।”
राससका महाप्रबन्धक सिद्धराज राईले राससका समाचारदातालाई दक्ष र प्रतिस्पर्धी बनाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
राससका प्रधानसम्पादक एकराज पाठकले राससको समाचार सेवालाई विविधिकरण गर्दै लगिएको बताउनुभयो ।
बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा राससका अध्यक्ष झा, महाप्रबन्धक राई, प्रधानसम्पादक पाठक, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस संयोजक नरहरि सापकोटालगायतले सहजीकरण गर्ने रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका रासस समाचारदाताको सहभागिता रहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्