ज्योतिष विद्यालाई नयाँ प्रविधिसँग जाेडेर विश्वभर प्रचार-प्रसार आवश्यक : उपप्रधानमन्त्री खड्का

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गरी विश्‍वभर यसको प्रचार–प्रसारमा अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल ज्योतिष परिषद्को रजत महोत्सवका अवसरमा ज्योतिष विद्यालाई हचुवाका रूपमा अभ्यास गर्ने र यसलाई जीविकोपार्जनको माध्यम बनाउनेभन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक रहेको उपप्रधानमन्त्री खड्काले उल्लेख गर्नुभयो ।

“ज्योतिष हाम्रो समाज तथा व्यक्तिगत र पारिवारिक जीवनसँग अभिन्‍न रूपमा गाँसिएको विद्या हो । यो प्रामाणिक र वैज्ञानिक विद्या हो”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “अब सामान्य हात हेर्ने र चिना टिप्पणी कोर्ने कुराबाट माथि उठेर समग्र आकाशीय पिण्ड र खगोलको खोजी तथा विभिन्‍न ग्रहहरूको स्थिति, गति र त्यसबाट मानव जीवनमा पर्नसक्ने सकारात्मक र नकारात्मक पक्षहरूको विश्‍लेषण गर्ने गरी ज्योतिष विद्याको विकास र अनुसन्धान गर्न आवश्यक छ ।”

उपप्रधानमन्त्री खड्काले ज्योतिष विद्या र खगोलीय पिण्डहरूको अवस्थिति र चलनबीच प्रत्यक्ष सम्बन्ध हुने भएकाले देशमा विभिन्न भागमा आधुनिक वेधशाला र ज्योतिषीय अनुसन्धान केन्द्रको विकास र विस्तार गर्दै जान आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

“नेपाल ज्योतिष परिषद्ले स्थापनाकालदेखि नै नेपालमा ज्योतिष विद्या र ज्ञानलाई व्यवस्थित तवरले अघि बढाउन र ज्योतिष विद्यालाई गाउँघरसम्म फिजाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “परिषद्को आयोजनामा विगतमा नेपालमा तीन वटा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन र झण्डै डेढ दर्जनको सङ्ख्यामा राष्ट्रिय ज्योतिष सम्मेलन सम्पन्‍न भई ज्योतिष र धर्मशास्त्रका विभिन्‍न पक्षमा महत्त्वपूर्ण विचार विमर्श भएका छन् ।”

परिषद्ले देशमा विभिन्न प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहमा ज्योतिषीय गोष्ठी, तालिम र प्रशिक्षण सञ्‍चालन गरी धेरै ज्योतिषानुरागी व्यक्तिहरूलाई शिक्षित र दीक्षित गर्दै आएको छ । देशमा धेरै सङ्ख्यामा प्रशिक्षित ज्योतिषी जनशक्ति विकास गरी ज्योतिष विद्यालाई देशको कुना कन्दरासम्म प्रचार–प्रसार गर्न परिषद्ले काम गर्दै आएको छ ।

परिषद्को मुखपत्रका रूपमा रहेको ‘ज्योतिष–सन्देश’ पत्रिकाले विभिन्‍न विद्वान् तथा विदुषीहरूका लेखरचनाहरू प्रकाशन गरी ज्योतिष शास्त्रका विभिन्‍न पक्षमा नियमित तवरमा नेपाली समाजमा महत्त्वपूर्ण जानकारी तथा सूचना सम्प्रेषण हुँदै आएका छन् ।

“परिषद्ले आगामी दिनमा ज्योतिष शास्त्रभित्रका महत्त्वपूर्ण ग्रन्थ तथा कृतिहरूलाई प्रकाशनमा ल्याउने, संस्कृत तथा अन्य भाषामा रहेका ज्योतिषका ग्रन्थलाई सर्वसाधारण सबैले बुझ्ने गरी नेपाली भाषामा क्रमशः अनुवाद गरी ज्योतिष विद्यामा सबैको पहुँच अभिवृद्धि गर्ने र ज्योतिष विद्यालाई थप वैज्ञानिक र व्यवस्थित बनाई समाजको बृहत्तर हितमा उपयोग गर्ने वातावरण निर्माण गर्न अग्रणी भूमिका निर्वाह गर्नेछ भन्‍ने मैले विश्‍वास लिएको छु”, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.