तराईमा सडक किनारा र खेतमा पराल जलाउने प्रवृत्ति बढ्दै, सडक बिग्रने जोखिम

जनकपुरधाम- तराई मधेशका जिल्लामा केही वर्षयता सडक किनारा र खेतमा पराल जलाउने प्रवृत्ति बढ्दै गएको छ । यसले माटोको उर्वरा शक्तिमा ह्रास मात्र होइन, वातावरण दूषित हुनुका साथै मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ ।

खेती गर्ने रैथाने तरिकालाई व्यवस्थित गर्न नसक्दा र मेसिनको बढ्दो प्रयोगले वातावरण र उर्वराशक्तिमा असर परेको हो । धनुषाको ढल्केबर-जनकपुरधाम जटहीको सिक्सलेन व्यापारिक राजमार्ग र नजिकका खेतहरुमा किसानले परालको थुप्रो बनाई आगो लगाउने कार्यले चरम वायु प्रदूषण हुने गरेको छ ।

यसले वातावरणमा प्रदूषण फैलिने मात्र होइन माटोको उर्वरा शक्ति क्षीण हुने र माटोमा रहेको चिस्यानमा कमी आउने भएकाले यसको असर अर्को पटक लगाउने बालीमा पर्ने गरेको छ । मानिसको स्वास्थ्यमा समेत यसको प्रतिकूल असर उत्तिकै रहेको छ ।

सरकारले अर्बौँ बजेट विनियोजन गरेर राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण गरिएको उक्त व्यापारिक राजमार्गमा स्थानीय किसानले हजारौं क्वीण्टल पराल र भुस थुपारेर आगो लगाउनाले राजमार्गको कालोपत्रे डढेर सडक चाँडै बिग्रने सम्भावना बढेर गएको छ । तर सरोकारबाला निकाय भने मुकदर्शक भएर बसेका छन् ।

सो राजमार्गअन्तर्गत पर्ने जनकपुरधाम उपमहानगरपालिकाको देवपुरा रुपैठा, नगराईन नगरपालिकाको गंगुली, जटही लगायतका ठाउँहरुमा सवारी साधन नै अबरुद्ध हुने गरी राजमार्गमा पराल र भुसको ठूल्ठूला थुप्रो लगाएर स्थानीयले आगो लगाउँदै आएका छन् ।

नगराईन नगरपालिका प्रमुखलाई भेटेर सो बारे चासो राख्दा ‘यो काम ट्राफिक प्रहरीको रहेको’ भन्दै उम्किन खोजेको हाम्रा स्थानीय सम्वाददाताले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.