चौध वर्षपछि महाकाली करिडोर निर्माणले गति लियो

कञ्चनपुर- भारत र चीनसँग नाका जोड्ने महत्वपूर्ण रणनीतिक सडकका रुपमा हेरिएको महाकाली करिडोर निर्माणले १४ वर्षपछि गति लिएको छ । २०६६ मा दार्चुला तिङ्कर सडकका रुपमा सुरु गरिएको उक्त योजना २०७४ मा महाकाली करिडोरमा परिणत भयो ।

तर करिडोर अन्तर्गतका रुख कटानको आदेशमा ढिलाई हुँदा सन्तोषजनक काम हुन सकेको थिएन । तर अहिले रुख कटानको अनुमति पाएसँगै धामाधम ट्रयाक खोल्ने काम भइरहेको छ । आगामी वर्षभित्र कञ्चनपुरदेखि दार्चुलाको तुसारापानीसम्म सम्पूर्ण ट्रयाक खोलिने लक्ष्य लिइएको छ ।

महाकाली करिडोरलाई सुदूरपश्चिमको मात्रै नभइ त्रिदेशीय नाका जोड्ने रणनीतिक योजनाका रुपमा हेरिएको छ । कञ्चनपुरको ब्रह्देवदेखि डडेल्धुरा, बैतडी हुँदै तिङ्करसम्म पुर्‍याइने यस योजनामा केहिदिन अघि कञ्चनपुर–डडेल्धुरा ट्रयाक खोलिएको हो ।

जसले गर्दा सडक सञ्जालबाट टाढा रहेका यसक्षेत्रका स्थानीयलाई कैलाली कञ्चनपुर आउजाउ गर्न सहज भएको छ भने महाकाली करिडोर बन्ने आशंकामा रहेका स्थानीयमा खुशी छाएको छ ।

महाकाली करिडोर निर्माणका लागि कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको तुसारपानीसम्म ३३४ किमिलोमिटर र तुसारपानीदेखि तिङ्कर नाकासम्म ७९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरिएको छ । जसलाई महाकाली करिडोर योजना र नेपाली सेनाले निर्माण गर्दैछन् ।

उक्त योजनाको हालसम्म २५३ किमी ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । तर सरकारले विनियोजन गरेको २९ करोड ३५ लाख बजेट फागनुमा सकिने महाकाली करिडोर योजनाले जनाएको छ । यसले योजनाको काम प्रभावित बन्ने देखिन्छ ।

त्यसैले लामो समयपछि गति लिएको योजनाको काम प्रभावित हुन नदिन सरकारले बेलैमा बजेट व्यवस्थापन गर्न जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.