त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ ।
पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।
यही माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न थालिएको नियन्त्रक जोशीले बताउनुभयो । “अब विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत फाराम भरेर शुल्क पनि इ–पेमेन्टबाट तिर्न सक्छन्”, उहाँले भन्नुभयो, “हामीले सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा विद्यार्थीका शैक्षिक प्रमाणपत्र एक हप्ताभित्र पठाउने गर्दछौँ ।”
नियन्त्रक जोशीका अनुसार अहिले शैक्षिक प्रमाणपत्र क्षेत्रीय कार्यालयमा पठाउने र वैशाखदेखि विद्यार्थी पढेको क्याम्पसमा नै पाँच दिनमा पाउने गरी पठाइनेछ । पनिकामा दैनिक एक हजारदेखि दुई हजार विद्यार्थी शैक्षिक प्रमाणपत्रका लागि आउने गरेको उहाँको भनाइ छ । विद्यार्थीले पनिकाको वेबसाइट www.tuexam.edu.np मा गएर अनलाइन फाराम भर्न सक्छन् ।
यही माघ १५ गतेदेखि अनलाइन सेवा सञ्चालन गर्न कर्मचारीलाई तालिम दिई तयार पारिनेछ । विराटनगर, पोखरा, नेपालगञ्ज र अत्तरियामा त्रिविका क्षेत्रीय कार्यालय छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.