उपत्यकाका ५३ सरकारी संरचनामा तत्काल पुनर्निर्माण आवश्यक

काठमाडौँ- उपत्यकामा विद्यालय, स्वास्थ्य संस्था र सरकारी गरी ५३ भवनसँगै चारवटा मोटेरेबल पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको पाइएको छ ।
जापानी सहयोग नियोग जाइका सँगको सहकार्यमा प्राधिकरणले गरेको अध्ययनअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका ३१ विद्यालयका ३२ भवन पुननिर्माण गर्नुपर्ने देखिएको हो ।
जसमा सरस्वती बहुमुखी क्याम्पस, शंकरदेव क्याम्पस, बालसेवा मावि, प्रभाव मावि, भैरवनाथ निमावि, चण्डिकादेवी मावि, चण्डीभैरव मावि लगायत विद्यालयका भवन रहेका छन् ।
यसैगरी १३ स्वास्थ्य संस्थामा मातातीर्थ, सतुगंल,गुन्डु, कटुन्जे स्वास्थ्य चौकी, छैमले,सीतापाइला,पलिफल उपस्वास्थ्य चौकी लगायतका भवन जिर्ण देखिएका हुन । आठ सरकारी भवनमा मध्यपुर थिमि नगरपालिका भवन,चन्द्रागिरी,गोदावरी,किर्तीपुर र कागेश्वरी मनोहरा नगरपालिकाका वडा कार्यालयहरुको संरचना कमजोर देखिएको छ । चारवटा पुलमा बाग्मती, धोबीखोला, विष्णुमति लगायतका पुल पुनर्निर्माण गर्नुपर्ने देखिएको परियोजनाका निर्देशक रामेश्वर मरहट्टाले बताउनुभयो ।
ती भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारलाई सिफारिस गरेको पनि निर्देशक मरहट्टा ले जानकारी दिनुभयो
५७ वटा संरचना पुनर्निर्माणका लागि प्रारम्भिक बजेट तीन अर्ब ६० करोड ६९ लाख रुपैयाँ आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । विद्यालय भवनका लागि एक अर्ब ६३ करोड १५ लाख, स्वास्थ्य संस्थाका भवनका लागि ३८ करोड ७४ लाख, सरकारी भवनका लागि ५१ करोड ८० लाख र पुलका लागि एक अर्ब सात करोड बजेट आवश्यक पर्ने औँल्याइएको हो ।
२०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएपछि जापानी सहयोग नियोग जाइकाले भूकम्पीय जोखिमको आकलन गरेको थियो । सन् २०१५ देखि २०२० सम्मको अध्ययनअनुसार उपत्यकामा ५४ हजार भौतिक संरचना भूकम्पीय जोखिममा रहेको देखिएको थियो । तर, प्राधिकरणले तीमध्ये तत्काल पुनर्निर्माण गर्नुपर्ने संरचनाको विस्तृत अध्ययन गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्