प्रचार–प्रसारका लागि काँग्रेसले सातै प्रदेशमा प्रतिनिधि खटाउने

काठमाडौँ –नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो”, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ मा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो ।

राष्ट्रियसभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.