समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट नौ हजार बढी लाभान्वित

चितवन- भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट नौ हजार बढी लाभान्वित भएका छन् ।

भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरु देखिएका छन् ।

भरतपुरको २९ वटै वडामा सञ्चालन भएको अभियानमा टोलटोलमामा पुगेर प्रयोगशाला सुविधासहितका चिकित्सक र स्वास्थ्यकर्मी पुगेका थिए । यसका लागि १०२ जना स्वास्थ्यकर्मीले परिचालन गरिएको थियो ।

हालसम्म ९ हजार ४१८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । स्वास्थ्य जाँचबाट विरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरे नगरेको बारे पुनः परीक्षण नगरेको पाइएको छ ।

यस्तै मधुमेह, उच्च रोगहरु बोकेर हिडेको तर, जानकारी नभएको समेत पाइएको अधिकृत भट्टले जानकारी दिनुभयो । स्वास्थ्य जाँचपछि जेष्ठ नागरिक, अपाङ्ग तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिईने औषधि दिएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । भरतपुवासीलाई प्रत्यक्ष महशुस हुने गरी घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रमुख दाहालको उहाँको भनाइ छ ।

जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ महानगरका सबै वडामा अभियान चलाइएको हो,’ प्रमुख दाहालले भन्नुभयो ।

मंसिर २० गते भरतपुर वडा नम्बर २४ बाट समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीहरूको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा उपचारको व्यवस्था मिलाइएको थियो । अभियान माघ मसान्तसम्म चल्ने महानगर स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।

अभियानले भरतपुरमा रहेका जेष्ठ नागरिक, अपाङ्ग तथा अशक्तको वास्तविक स्वास्थ्य अवस्थाको तथ्याङ्क संकलन गरेकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाउदाँ धेरै सहयोग पुग्ने प्रमुख सुवेदीले बताउनुभयो । स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा. भोजराज अधिकारीलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.