दरबाङ-म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तीन महिनादेखि अलपत्र

म्याग्दी- म्याग्दीमा निर्माणाधीन दरबाङ-म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य रोकिएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो ।

बि.स. २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका गाउँपालिका–६ गोचाखोला क्षेत्रमा अहिले मेसिन उपकरणहरु मात्रै रहेका छन् । डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रड लगायतका निर्माण सामाग्री सुरुङ अगाडी अलपत्र अवस्थामा छन् ।

आयोजनाको पूर्ण क्षमतामा निर्माण कार्यलाई अघि बढाउने गरि केहि समयदेखि सुरुङको काम रोकिएको भएपनि थप मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग खन्ने तयारी भैरहेको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी दिनुभयो ।

‘अब फेरी सुरुङको काम सुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौँ, यसै माघ २० गतेबाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्ने गरि प्रवन्ध मिलाउँदै छौँ, अहिलेपनि कर्मचारी आवासगृहतर्फको काम भैरहेको छ’– आयोजना प्रमुख रेग्मीले भन्नुभयो । उहाँका अनुसार, यस आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको छ ।

कुल २ हजार ८५० मिटर लामो सुरुङमार्ग बनाउनुपर्नेमा अहिलेसम्म ९९५ मिटर सुरुङ निर्माण सकिएको आयोजनाले जनाएको छ । पाँच बर्ष अगाडी तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाद्वारा आयोजनाको दुखुबेशीको बालौटेमा निर्माण हुने पावरहाउसको शिलान्यास गरिएको थियो ।

तर यस आयोजनाको सुरुङबाहेक विद्यूतगृह र ड्यामसाईटतर्फ कुनै काम सुरु भएको छैन । आयोजनाको सुरुङ निर्माणमा विष्फोटक पदार्थको अभावले काम नभएको बताइएको छ ।

पालिकाले काम अघि बढाउन प्रवर्द्धकसँग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताउनुभयो । ‘‘स्थानीय स्तरमा केहि समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौँ’’– अध्यक्ष गर्वुजाले भन्नुभयो ।

आयोजनाको निर्माण कार्य कछुवा गतिमा भएपछि लगानीकर्ताहरु समेत चिन्तित बनेका छन् । मालिका गाउँपालिका– ५ देविस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याईने पानीलाई दुखुबेसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने पावरहाउसमा खसालेर विद्युत उत्पादन गर्ने तयारी छ ।

५ अर्ब १५ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.